फागुन १५, दैलेख । जिल्लाको पश्चिम क्षेत्रमा पर्ने सबैभन्दा ठूलो रामाघाट खोलामा झोलुंगे पुल निर्माण गरिने भएको छ । चालू आर्थिक वर्षमा कर्णाली प्रदेश सरकारले पुल निर्माणका लागि ३५ लाख २२ हजार ९०८ रुपैयाँ बजेट पठाएको छ ।
खोलामा वार–पार गर्ने समयमा यसअघि धेरै स्थानीय बासिन्दालाई खोलाले बगाएपछि पुल निर्माण थालिएको निर्माण उपभोक्ता समितिका अध्यक्ष दीपक बुढाले बताए । पुल निर्माणमा हाल २० जना स्थानियले प्रत्यक्ष रोजगारी पाएका छन् । वर्षौंदेखि पुल निर्माणको प्रतीक्षामा रहेका दुई स्थानीय तहका हजारौं नागरिक पुल निर्माण शुरू भएपछि त्यहाँका नागरिकहरु उत्साहित भएका छन् ।
पुल बनेपछि चामुण्डाबिन्द्रासैनी नगरपालिकाको वडा नम्बर ३ र ठाटीकाँध गाउँपालिकाको वडा नम्बर १ जोड्नेछ । करिब ८० मिटर लामो पुल निर्माण भएपछि दुवै स्थानीय तहका बासिन्दालाई आवतजावतकासाथै सामान ढुवानीमासमेत सहज हुनेछ ।
आगामी वैशाखदेखि पुल सञ्चालनमा ल्याउनेगरी काम थालिएको निर्माण समितिका अध्यक्ष बुढाले बताए । ‘करीब १८ लाख रुपैयाँ बराबरको सामग्री ढुवानी भइसकेको छ,’ उनले भने, ‘पुलका लागि आवश्यक पर्ने लठ्ठाको ढुवानी केही दिनमै हुनेछ । ठाटीकाँध गाउँपालिका–१ सिराडीका स्थानीय मानबहादुर शाहीले पुल निर्माण भएपछि साविकको भन्दा ३ घण्टा कम समयमै चामुण्डा बजार जान सकिने बताए ।