पुष ११, काठमाडौं । संसद विघटनको विरुद्धमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पुष १३ गते १६५ निर्वाचन क्षेत्रमा आव्हान गरेको विरोध प्रदर्शनमा सहभागिता जनाउनका लागि सभापति शेर बहादुर देउवाले अपील गर्नुभएको छ । सभापति देउवाले शनिबार प्रेस विज्ञप्ती जारी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा प्रतिनिधिसभा विघटन गरिएको घटनाका विरुद्धमा आव्हान गरिएको विरोध प्रदर्शनमा सहभागी हुन सबैलाई अपील गर्नुभएको हो ।
विज्ञप्ती जारी गर्दै सभापति देउवाले भन्नुभएको छ, ‘प्रधानमन्त्री के।पी। शर्मा ओलीको सिफारिसमा प्रतिनिधिसभा विघटन गरिएको घटनाका विरुद्ध पुष १३ गते सोमबार नेपाली कांग्रेसले १६५ निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन आयोजना गरेको छ । त्यसमा सक्रिय सहभागिताका लागि म सबैमा हार्दिक अपील गर्दछु ।’
त्यस्तै, उहाँले संसद विघटनकै दिन आफूले पार्टीका वर्तमान र पूर्व पदाधिकारीहरुको बैठक आयोजना गरेर बैठकमार्फत् संसद विघटनलाई असंवैधानिक र अलोकतान्त्रिक ठहर गरिसकेको बताउनुभएको छ ।
जारी विज्ञप्तीमा थप भनिएको छ, ‘संविधानमा भएको ब्यवस्था प्रतिकुल, जनभावना विपरीतको कार्यविरुद्ध नेपाली कांग्रेस सम्पूर्ण रुपले एकमत साथ उभिएको छ । जारी केन्द्रीय कार्यसमितिको बैठकमा म आफैले १३ गते प्रदर्शन गर्ने प्रस्ताव गरेर, केन्द्रीय कार्यसमितिको निर्णय पश्चात् अहिले हाम्रो सम्पूर्ण ध्यान प्रदर्शनमा केन्द्रित छ ।’
उहाँले पार्टीका सदस्य, शुभचिन्तक र सबै लोकतन्त्रवादीलाई विरोध प्रदर्शनमा सरिक भएर असंवैधानिक र अलोकतान्त्रिक कदमका विरुद्ध ऐक्यवद्धता प्रकट गर्न अपील गर्नुभएको छ ।
यही पुष ५ गते प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारी प्रतिनिधिसभा विघटन गरेकी थिइन् । प्रधानमन्त्री ओलीको यस कदमको चौतर्फी विरोध र आलोचना भइरहेको छ ।