असोज १०, काठमाडौं । तारकेश्वर नगरपालिकाले प्लाज्मा डोनेसन कार्यक्रम सम्पन्न गरेको छ । अहिलेसम्म कोरोना भाइरस (कोभिड–१९) संक्रमितको निको भएर प्लाज्मा डोनेसन गर्न विभिन्न अस्पतालहरु र रेडक्रसमार्फत् गर्नेको संख्या ८० पुगेको छ ।
तारकेश्वर नगरपालिकाले नगरपालिकाको प्राङ्गणमा गरेको कार्यक्रममा ८ जनाले प्लाज्मा डोनेसन गरेका छन् । रक्तदान कार्यक्रममा तारकेश्वर नगरपालिकाभित्रका सबै वडाहरुबाट कोरोना संक्रमण भएर निको भई १४ दिन पुगेका बिरामीहरु मात्र सहभागी भएका थिए । कोभिड निको हुनेहरुको प्लाज्मा एन्टीबडिज हुने भएकाले उनिहरुले दान गरेको प्लाज्मा कोभिडको बिरामीलाई दिँदा उनिहरुमा रोगसँग लड्न सक्ने क्षमता बढेर जान्छ ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सहायक अनुसन्धान अधिकृत बिमला धमलाको को–अडिनेटरमा भएको प्लाज्मा डोनेसन कार्यक्रममा नेपाल चिकित्सक संघबाट डा. रविन बस्नेत र डा. संगिता भुषालले रक्तदातालाई सम्मान स्वरूप खादा, मायाँको चिनो र प्रमाणपत्र वितरण गर्नुभएको थियो ।
कार्यक्रममा तारकेश्वर नगरपालिकाको कार्यबाहक नगर प्रमुख भवानी डोटेल धिताल, प्रमुख प्रशासकिय अधिकृत शिव प्रसाद लम्साल, नगर शिक्षा प्रमुख तथा सूचना अधिकृत होमनाथ न्यौपानेको उपस्थिति रहेको थियो ।