• २०७९ असोज ९ गते आइतवार

पुनर्निर्माणमा पाकिस्तान र भारतभन्दा नेपाल अगाडि : प्राधिकरण

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

पौष १०, काठमाडौँ। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले नेपालमा भूकम्पपछिको पुनर्निर्माणको गति भारत र पाकिस्तानको भन्दा राम्रो रहेको बताएको छ । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले आज प्राधिकरण स्थापनाको ५ वर्ष पुरा भएको अवसरमा प्रगति विवरण सार्वजनिक गर्दै नेपालले ५ वर्षमा पुनर्निर्माणको क्षेत्रमा गौरव गर्न लायक उपलब्धि हासिल गरेको बताए ।

नेपालको पुनर्निर्माणको गति विगतमा भारत र पाकिस्तानमा भएको पुनर्निर्माण भन्दा निकै तिब्र गतिमा भएको समेत उल्लेख गरे । १२ वैशाख २०७२ को भूकम्पपछि सरकारले भूकम्पबाट क्षतिग्रस्त संरचना पुनर्निर्माणलाई सहज बनाउन राष्ट्रिय पुनर्निर्माण प्राधिकरण गठन गरेको थियो ।

प्राधिकरणलाई प्रारम्भमा ५ वर्षको दिइएको समयावधि शुक्रबार पुरा भएको छ । १५ मंसिर २०७७ मा बसेको मन्त्रिपरिषद् बैठकले प्राधिकरणको समयावधि एक वर्ष लम्ब्याएको छ । प्राधिकरणका अनुसार स्थापनाको ५ वर्षमा भूकम्पले भत्काएका निजी आवासतर्फ ९१ प्रतिशत प्रगति भएको छ । त्यसमध्ये अहिलेसम्म ६९।९ प्रतिशत घरको पुनर्निर्माण पुरा भएको छ । २१।१ प्रतिशत घरहरु भने अहिले पनि बनिरहेका छन् । प्राधिकरणका अनुसार निजी आवास बनाउन कुल ७ लाख ९६ हजार २ सय ४५ लाभग्राहीले अनुदान सम्झौता गरेका छन् । त्यसमध्ये ५ लाख ५६ हजार ४ सय ८७ घर पुनर्निर्माण सम्पन्न भएका छन् ।

१ लाख ६८ हजार ८३ घर चालु आर्थिक वर्ष भित्रै निर्माण सम्पन्न हुने प्राधिकरणले जनाएको छ । निर्माण रोकिएका वा ढिला भएकाहरु घर अतिसीमान्तकृत लाभग्राही वा घर निर्माणमा अरुको सहयोग आवश्यक हुने समुदाय समेत रहेका छन् । विद्यालयतर्फ ७५५३ भवन निर्माणको लक्ष्य रहेकोमा ६०८५ निर्माण सकिएको र १४६८ वटा विद्यालय निर्माण जारी रहेको प्राधिकरणको तथ्यांक छ ।

स्वास्थ्यसंस्थातर्फ ११९६ वटा पुनर्निर्माणको लक्ष्य रहेकोमा ६९८ वटा पुनर्निर्माण सकिएका छन् । १४३ भवन निर्माणाधिन अवस्थामा छन् । सुरक्षा निकायको भवनतर्फ २१६ भवनको लक्ष्य रहेकोमा २१४ भवन बनिसकेका छन् । सरकारी भवनतर्फ ४१५ लक्ष्य रहेकोमा ५ वर्षको अवधिमा ३७५ भवन बनिसकेका छन् । ३८ वटा भवनको निर्माण जारी रहेको छ । पुरातात्विक सम्पदातर्फ ९२० सम्पदा पुनर्निर्माण हुनुपर्नेमा ४६५ सम्पदा बनिसकेका छन् । अब २७२ सम्पदाको पुनर्निर्माण जारी रहेको छ । गुम्बातर्फ १३२० क्षति भएकोमा २९४ गुम्बाको पुनर्निर्माण सम्पन्न भएको छ ।

प्रतिक्रिया दिनुहोस