मंसिर १०, महोत्तरी । महोत्तरीको बर्दिबासमा भएको प्रदर्शनमा प्रहरीको गोली लागेर घाइते भएका युवकको मृत्यु भएको छ । ६ वर्षीया बालिकाको बलात्कार पछि हत्या भएको भन्दै गरिएको प्रदर्शनमा प्रहरीको गोली लागेर बर्दिबास १ का बुद्धिराज न्यौपानेको उपचारका क्रममा मृत्यु भएको हो ।
गएको आइतबार बेलुका देखि बेपत्ता भएकी बर्दिबास नगरपालिका १४ शुभम् बस्तीका सहिद आलमकी ६ वर्षीया छोरी गुलाब साह खातुनको शव सोमबार राति घर नजिकै झाडीमा फेला परेपछि बर्दिबासमा आन्दोलन चर्किएको थियो । आफन्त र स्थानीय दोषीलाई कारबाही गर्नुपर्ने मागसहित शव सडकमा राखेर प्रदर्शनमा उत्रिएका थिए ।
भिड नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको थियो । बालिका हत्याको आरोपमा २५ वर्षीय अरुण कुमार साहलाई प्रहरीले पक्राउ गरेको छ । बालिकाको बलात्कार पछि हत्या भएको आरोप आफन्त र स्थानीयले लगाएका छन् ।