• २०८० फाल्गुन १० गते बिहिवार

चौरजहारीमा दुइ युवाको मृत्यु, चार अझै बेपत्ताः नेकपाद्वारा छानवीन समिति गठन

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रुकुमपश्चिमले घटनाको अध्ययन र छानवीनमा सहयोग गर्न एक समिति गठन गरेको छ ।
खबर२४ नेपाल पढ्न लाग्ने समय : ३ मिनेट

जेठ १२, रुकुमपश्चिम । रुकुमपश्चिमको चौरजहारीमा भएको झडपमा दुइ जनाको ज्यान गएको छ भने बेपत्ता भएका चार जना अझै भेटिएका छैनन् ।


जाजरकोटको भेरी नगरपालिका–४ बाट आफ्ना १९ जना साथीसहित प्रेमिका भगाउन भनेर शनिबार राति रुकुम पश्चिमको चौरहजारी नगरपालिका–८ सोती गाउँ पुगेका २१ वर्षिय नवराज विकले ज्यान गुमाएका हुन् । उनका साथी चौरजहारी टिकाराम सुनारको पनि निधन भएको छ ।

नवराजको आइतबार बिहान र टिकारामको साँझ शव फेला परेको हो । उनीहरूको मृत्युबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । गम्भीर घाइते दुईजनाको चौरजहारी सामुदायिक अस्पतालमा उपचार भइरहेको छ ।

नवराजको सोती गाउँकी मल्ल थरकी १७ वर्षीया एक किशोरीसँग प्रेमसम्बन्ध रहेको र बिहेका लागि सोती आएका बेला झडप भएको हो । उनी शनिबार अरू १८ जना साथी लिएर जाजरकोटबाट चौरजहारी नगरपालिकाको सोती आएका थिए । लकडाउनको बेला यति धेरै किन आए भनेर गाउँले जम्मा हुँदा आफूहरुमाथि आक्रमण हुन थालेको बुझेर जाजरकोटबाट आएका युवाहरु भागेको र गाउँ पछिपछि लखेट्दै जाँदा ६ जना युवाहरु भेरी नदीमा हाम फालेको र १२ जना भेरीवारि नै रहेको स्थानीयले बताएका छन् ।

भेरीमा हामफालेका दुइ जनाको शब भेटिएको छ भने चार जना बेपत्ता छन् । भेरीवारि रहेका १२ जनामध्ये १० जना सामान्य घाइते हिजो नै अस्पतालबाट डिस्चार्ज भएका छन् भने दुइ जनाको अस्पतालमा उपचार भइरहेको छ । केही महिनाअघि पनि नवराज आफ्ना केही साथीसहित तिनै किशोरीसित बिहे गर्न भन्दै सोती आएका थिए । त्यतिबेला पनि इलाका प्रहरी कार्यालयमा ल्याएर उमेर पुगेपछि बिहे गर्ने सर्तमा घर पठाइएको प्रहरीले बताएको छ ।

नवराजको सोतीकी १९ वर्षीया मल्ल थरकी किशोरीसँग प्रेम सम्बन्ध रहेको र उनकै आग्रहमा भगाउनलाई आफूहरु गएको त्यो टोलीका एक घाइते आशिष विकले प्रहरीलाई बताएका छन् ।

केटीसँग भेट हुन नपाउँदै केटीकी आमाले चिच्याएर गाउँलेलाई बोलाएपछि आफूहरुमाथि आक्रमण भएको उनको भनाइ छ । घाइतेहरुले केटा र केटीको थर नमिल्दा जातीय विभेदका कारण यो घटना भएको बताएका छन् भने स्थानीयले लकडाउनको बेलामा धेरै मान्छे आउँदा हुमहाल र आवेशमा यस्तो घटना भएको बताएका छन् ।

यसैबीच नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रुकुमपश्चिमले घटनाको अध्ययन र छानवीनमा सहयोग गर्न एक समिति गठन गरेको छ । पार्टी अध्यक्ष गोपाल शर्मा ‘अनल’ले प्रेस नोटमार्फत सो जानकारी गराउनुभएको हो ।

‘प्रेम सम्वन्ध र विवाह प्रसंगका कारण भएको भनिएको अकल्पनीय एवं निन्दनीय सो घटनाको निश्पक्ष छानविन गरि दोषिलाई कानुन वमोजिम कडा कारवाही गर्न स्थानीय प्रशासनको गम्भिर ध्यानाकर्षण गराउदछौं । साथै घटनाका क्रममा वेपत्ता रहेका व्यक्तिहरुको तत्काल खोजीकार्य तथा उद्धारको लागि पनि स्थानीय सरकार, प्रशासन तथा सुरक्षा निकायलाई अनुरोध गर्दछौं’– नोटमा भनिएको छ– ‘सरकारको नेतृत्व समेत गरिरहेको जिम्मेवार राजनीतिक दलको हैसियतले सो घटनाका सम्वन्धमा पार्टीको तर्फवाट सत्यतथ्य वुझ्न र अनुसन्धानमा सहयोग गर्न हाम्रो पार्टीको प्रदेश कमिटी सदस्य क.चन्द्रवहादुर विश्वकर्माको संयोजकत्वमा प्रदेश कमिटी सदस्य क. पुष्प वादी र जिल्ला कमिटी सदस्य क. भिमा थापा सदस्य रहेको ३ सदस्यीय समिति गठन गरिनुको साथै घटनाको निश्पक्ष छानविन तथा अनुसन्धानमा स्थानीय प्रशासनलाई पूर्णरुपमा सहयोग गर्न जिल्ला कमिटीको तर्फवाट स्थानीय पार्टी एवं सरकारलाई निर्देशन गरिएको छ ।’

अन्तमा, उक्त घटनामा निधन हुनुभएका जाजरकोट जिल्ला भेरी नगरपालिका वडा नं –४, रानागाउँ निवासी नवराज विक र चौरजहारी नगरपालिका वडा नं–१ का टीकाराम विकप्रति हार्दिक श्रद्धाञ्जली एवं शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गरिएको छ ।

प्रतिक्रिया दिनुहोस