• २०८० चैत्र १६ गते शुक्रवार

कोरोनाको परिवर्तित रुपबारे अध्ययन गरिने

पत्रपत्रिका पढ्न लाग्ने समय : ३ मिनेट

पौष ९, काठमाडौँ। सरकारले बेलायतमा देखिएको कोरोना भाइरसको परिवर्तित नयाँ रुप नेपाल प्रवेश गरेनगरेको पत्ता लगाउन अध्ययन गर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालको उपस्थितिमा बुधबार बसेको इन्सिडेन्ट कमान्ड सिस्टमको बैठकले भाइरसको नयाँ स्वरुप नेपालमा भएनभएको अध्ययन गर्ने निर्णय गरेको हो ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का सदस्यसचिव डा। प्रदीप ज्ञवालीले केही सातायता बेलायतबाट अथवा बेलायत ट्रान्जिट हुँदै आएका यात्रुको खोजी गरी संक्रमित पाइए अनुवांशिक उपक्रम (जेनेटिक सिकेन्स) अध्ययन गरिने जानकारी दिए । ‘हामीले बिहीबारदेखि नै सम्भावित संक्रमितको खोजीलाई अगाडि बढाउनेछौं,’ ज्ञवालीले भने ।

कोरोना भाइरसको दोसो चरणको जेनेटिक सिकेन्सको अध्ययन गर्ने योजना यसअघि नै बनाए पनि परिषद्ले बेलायतमा देखिएको नयाँ स्टे«नको पनि सम्भावना देखिएकाले थप भाइरसका नमुना समेटेर अध्ययन गर्न लागेको हो । ‘यसपटक कम्तीमा पनि ५० भन्दा बढी नमुनाको अध्ययन गर्ने तयारी रहेको र यसबारे थप गृहकार्य बिहीबारबाटै गर्नेछौं,’ ज्ञवालीले भने ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले बुधबार राति १२ बजेदेखि लागु हुनेगरी बेलायतबाट आउने र बेलायत ट्रान्जिट भएर आउने यात्रुलाई नल्याउन विभिन्न हवाईसेवालाई सर्कुलर गरिसकेको छ । कोरोना महामारी सुरु भएपछि नेपालेले गत मार्च अन्तिम सातादेखि सेप्टेम्बर १ सम्म अन्तर्राष्ट्रिय उडान बन्द गरेको थियो । प्राधिकरणका उपमहानिर्देशक तथा प्रवक्ता राजकुमार क्षेत्रीले पश्चिम राष्ट्रबाट विशेषगरी एयर अरेबिया, टर्किस एयरलायन्स, कतार एयरलायन्स र फ्लाई दुबई एयरलायन्स हुँदै यात्रु नेपाल आउने भएकाले यी एयरलायन्स हुँदै नेपाल आएका यात्रुको खोजीनीति गर्न आवश्यक रहेको बताए । पछिल्ला केही सातायता नेपाल आउनेमा अधिकांश नेपाली नै भएको र पर्वतारोहणलगायत अन्य उद्देश्यका लागि विशेष अनुमति लिएर आएका यात्रु पनि रहेका उनले बताए । नेपालमा भाइरस संक्रमितको पहिचान र संक्रमितको सम्पर्कमा रहेकाको ट्रेसिङ अत्यन्त कमजोर रहेको बताउँदै त्रिभुवन विश्वविद्यालयमा माइक्रोबायोलोजीका प्राध्यापक डा। प्रकाश घिमिरे भाइरसको यो नयाँ स्ट्रेनको खोजी र पहिचानमा सरकार गम्भीर हिसाबले लाग्नुपर्ने तर्क गर्छन् ।

‘सरकारले सेप्टेम्बर १५ देखि बुधवारसम्म बेलायत र बेलायत हुँदै आएका यात्रुको तत्काल खोजी गरी उनीहरूमा कुनै लक्षण अथवा समस्या भएमा रिपोर्ट गर्न तत्काल सार्वजनिक सूचना जारी गर्नुपर्छ । यो नयाँ स्वरुप नेदरल्यान्ड, डेनमार्क, अस्ट्रेलिया, इटाली र आइसल्यान्डमासमेत देखिएकाले ती देशबाट अथवा ती देश हुँदै आएका यात्रुको पनि निगरानी आवश्यक छ,’ घिमिरे भन्छन् । यो भाइरस सुरुमा बेलायतमा सेप्टेम्बर तेस्रो साता पहिलो पटक देखिएको तर डिसेम्बर मध्यसम्म आइपुग्दा बेलायतको कुल संक्रमितको दुई तिहाइ हिस्सा यसले लिइसकेको छ ।

इम्पेरियल कलेज अफ लन्डनका डा.इरिक भोल्जले गत शुक्रबार एक अन्तक्र्रियामा अन्य स्ट्रेनभन्दा यो भाइरसको स्ट्रेनमा सर्न सक्ने क्षमता ७० प्रतिशतले बढी रहेको र यो अत्यन्त तीव्र गतिमा फैलिरहेको बताएका थिए । प्रारम्भिक समीक्षात्मक अध्ययनले यो नयाँ भाइरसमा १७ वटा फरक परिवर्तन भएको देखाएको छ । यो भाइरसलाई नियन्त्रण गर्न कोरोना खोप सफल हुने तर यो भाइरसले अझै पनि आफ्नो स्वरुपमा परिवर्तन गर्दै गएमा चुनौती थपिने बिबिसीले जनाएको छ । यो भाइरस फैलिन नदिन बेलायतमा कडा निषेधात्मक व्यवस्था लागू गरिएको छ भने नेपाललगायत विभिन्न देशले बेलायतसँगको हवाई सम्पर्क तोडेका छन् । रोयटर्समा मंगलबार प्रकाशित समाचारका अनुसार भाइरसको यो परिवर्तित स्वरुपले बालबालिका पनि संक्रमित हुने विज्ञले बताएका छन् ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले यसअघि पनि कोभिड–१९ भाइरसको आनुवांशिक अध्ययन गरेको थियो । अध्ययनले समेटेका १५ भाइरसका सिक्वेन्समध्ये एकाध साउदी अरेबिया, युरोप र अमेरिकामा पाइएका भाइरसका सिक्वेन्ससँग मिलेको पाइएको थियो भने अधिकांश भारतमा देखिएका सिक्वेन्ससँग मिल्दोजुल्दो देखिाएको थियो । अध्ययनले धेरै देशमा पाइएको भाइरसको ‘डी–६१४–जी’ नाम गरेको उत्परिवर्तित स्ट्रेन नेपालमा पनि रहेको देखाएको थियो । यो समाचार आजको नागरिक दैनिकमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस