मंसिर ९, दाङ । दाङबाट सात जुवाडेलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार राप्ती गाउँपालिका–२ लालमटियास्थित गोपाल खत्रीको घरमा यमबहादुर राणाले सञ्चालन गरेको राप्ती फेम्ली रेष्टुरेन्टमा जुवा खेलिरहेको अवस्थामा रु एक लाख ४६ हजारसहित उनीहरुलाई पक्राउ गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक सुमित खड्काका अनुसार प्युठान सरुमारानी गाउँपालिका–३ निवासी चुमानसिंह सुनार, अल्ली शाह, एडिस मियाँ, अकबर हुसेन मियाँ, कृष्णबहादुर राना, यमबहादुर राना र रुपेश आलेलाई पक्राउ गरिएको हो ।
उनीहरुको साथबाट जुवामा प्रयोग हुने १० गड्डी तास र एक थान गलैँचासमेत बरामद गरेर अनुसन्धान थालिएको प्रहरीले बताएको छ ।