असार १०, काठमाडौं । काठमाडौं महानगरपालिकाको नगरसभाको सातौं अधिवेशनले १६ अर्ब ४२ करोडको बजेट ल्याएको छ । बुधबार बसेको महानगरपालिकाको नगरसभामा महानगरकी उपप्रमुख हरिप्रभा खड्गीले १६ अर्ब ४२ करोड ७३ लाख २६ हजार रुपैंयाको बजेट सार्वजनिक गरेकी हुन् ।
काठमाडौं महानगरले ल्याएको उक्त बजेटमा ५ अर्ब ७७ करोड रुपैंया पूर्वाधारमा, २ अर्ब ५७ करोड सशर्त योजना तथा कार्यक्रममा, १ अर्ब ७४ करोड प्रशासनिक खर्चमा, सामाजिक विकासमा १ अर्ब ५० करोड, सम्पदा संरक्षणमा १ अर्ब ३४ करोड खर्च हुने अनुमान छ । उक्त खर्चको लागि आन्तरिक स्रोतबाट ४१.१९ ले हुने ६ अर्ब ७६ करोड, माथिल्ला सरकारको निशर्त ८.६७ अनुदान १ अर्ब ४२ करोड, सशर्त अनुदानतर्फ १५.६८ प्रतिशतले हुने २ अर्ब ५७ करोड, बैंक मौज्दाततर्फ २१.३१ प्रतिशतले हुने ३ अर्ब ५० करोड र बाँकी सामाजिक सुरक्षा भत्ता, मनोहरा र चमती जग्गा एकीकरण आयोजनाबाट जुटाइने अनुमान गरिएको छ ।
महानगरको बैंकमा रहेको मौज्दातका कारण अघिल्लो वर्षको भन्दा यस वर्ष बजेटको आकार बडेको हो । अघिल्यो वर्ष बजेट १५ अर्ब ५० करोडको बजेट थियो ।