• २०८० फाल्गुन १२ गते शनिवार

पुर्खाको माटोमा सुुन फलाउने रहर

पत्रपत्रिका पढ्न लाग्ने समय : ३ मिनेट

असार १०, पोखरा । फेवाताल पारि पर्यटकीय क्षेत्र पञ्चासे डाँडा जाने बाटैमा पर्ने सिधाने गाउँमा यतिबेला खेतीपातीको चहलपहल निकै बढेको छ । पर्यटक मार्गको रूपमा चिनिएको सिधानेमा यस अघि रैथाने बूढाबूढी बाहेकलाई पाखाबारी गोडमेलमा देख्न कठिन नै थियो । अहिले दुई तीन महिनाभित्रमा त्यहाँको दैनिकी र स्वरूप धेरै परिवर्तन भइसकेको छ । युवासमेत खेतीमा व्यस्त रहन थालेका छन् ।

वर्षे सिजनको नियमित अन्नबाली मकै, धान लगायतका काम त छँदैछ, गाउँमा कहीँ कुखुरापालन, बाख्रापालनका लागि खोर बन९ाइरहेको भेटिन्छन् त कहीँ तरकारीका लागि टनेल निर्माण गरेर बाली सुरु गरिसकेको भेटिन्छ । त्यहाँको मुख्य बेँसीक्षेत्र, पोखराको लेकसाइड, खपौंदी, पामे, बिरौटा लगायतका क्षेत्रमा व्यवसायका क्रममा बसाइँ सरी आएका स्थानीय धमाधम गाउँ फर्किन थालेपछि सिधानेको दैनिकी परिवर्तन भएको हो । सिधाने, एक उदाहरण हो । यतिबेला पोखराका धेरै ग्रामीण क्षेत्रमा खेतीको उर्वर माहोल छ । कोरोना महामारी तथा बन्दाबन्दीले जीवनयापन र व्यवसाय निरन्तरतामा अप्ठ्यारो परेको भन्दै उनीहरू गाउँ फर्किएका हुन् । अहिले उनीहरू वर्षौंदेखि बाँझो रहेका जग्गाजमिन उपयोग गरिरहेका छन् ।

सिधानेकै बासिन्दा पोखराका व्यावसायिक प्याराग्लाइडिङ पाइलट सविन गुरुङ, उनीहरूमध्येका एक हुनुहुन्छ । सिधानेमा रहेको करिब ४० रोपनी आफ्नो पुख्र्यौली पाखोबारी उपयोग गर्न परिवारसहित उहाँ गाउँ फर्कनुभएको छ । ३६ वर्षीय गुरुङ भन्नुहुन्छ, ‘‘नेपालीको रैथाने दक्षता अप्ठ्यारो परेको बेला नै काम आउने रहेछ ।’’ आफूलाई संसार देखाउन पिता पुर्खाले पसिना बगाएको माटोमा ‘सुन’ फलाउन सकिने आशा छ उहाँलाई । बन्दाबन्दीको करिब १५ दिनपछि गाउँ फर्कनुभएका प्याराग्लाइडिङ पाइलट गुरुङले अहिले करिब पाँच सय कुखुरा अट्ने र ३० वटा बाख्रा अट्ने फार्म निर्माण गरिसक्नुभएको छ भने एक सय कुखुरा पाल्न सुरु गरिसक्नुभएको छ ।

त्यसैगरी ६० वटा कागतीको बेर्ना हुर्काइरहनुभएको छ र करिब पाँच रोपनी जग्गामा वस्तुभाउका लागि घाँस पनि रोपिसक्नुभएको छ । “अब किबी लगायतका बजार केन्द्रित फलफूल तथा तरकारीबारे अध्ययन गरिरहेको छु, त्यो पनि छिट्टै सुरु गर्छुु,” उहाँले भन्नुभयो । पोखरा–२३ ठूलाखेतस्थित कुइरेडाँडाको कथा पनि सिधानेसँगै मिल्दोजुल्दो छ । लकडाउनअघिसम्म सुनसान रहेको कुइरेडाँडामा बस्ती बस्न सुरु भएको छ । जागिरको सिलसिलामा वर्षौं पहिले गाउँ छोडेर विस्थापित भएका स्थानीयबासी गाउँफर्केर खेतीपाती गर्न लागेपछि उक्त गाउँले जीवन पाएको हो । त्यहाँ बन्द अवस्थामा रहेका करिब ४५ घरमध्ये करिब १५ घरमा मानिसको दैनिकी सुरु भइसकेको छ । “देशभित्रै भएका करिब आइसके, देशबाहिर गएका आउने क्रममै छन्” ४९ वर्षीय अर्जुन सुनारले भन्नुभयो ।

वर्षौं बाँझो रहेको करिब सात रोपनी जग्गा उपयोग गर्दै नमुना कृषि गाउँ बनाउने योजना उनीहरूको छ । अहिले उनीहरूले करिब १५० रोपनी जग्गामा कृषि बालि लगाउन सुरु गरेका छन् । सरकारले आधुनिक कृषि प्रणाली प्रोत्साहनअन्तर्गत कुनै पनि किसान, कृषि उद्यम सञ्चालन गर्नेलाई विगतका वर्षदेखि नै विभिन्न सहुलियत तथा अनुदानको व्यवस्था गरेको हो । अहिले उक्त सहुलियत माग गर्ने तथा सोधीखोजी गर्नेको सङ्ख्या कोरोना महामारी तथा बन्दाबन्दीको समयभित्र स्थानीय तहहरूमा ह्वात्तै बढेको छ ।

“बन्दाबन्दीको समयमा पोखरा महानगरपालिकाका ३३ वटै वडामा, कृषि फार्म सञ्चालन लगायतका फर्म दर्ता गर्ने सेवाग्राही तुलनात्मक रूपमा बढी आएको पाइयो,” पोखरा महानगरपालिका कार्यालय कृषि महाशाखा प्रमुख मनोहरि कडरियाले भन्नुभयो । उहाँका अनुसार यतिबेला कृषिमा मानिसको आकर्षण बढेसँगै बाँझो जग्गा घट्दै गइरहेका छन् । यो समाचार आजको गोरखापत्र दैनिकमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस