पुस ७, काठमाडौं । उद्योग वाणिज्य महासंघको उर्जा तथा वातावरण समितिको सभापतिमा गोपाल खनाल चयन भएका छन् । महासंघका अध्यक्ष शेखर गोल्छाको अध्यक्षतामा बसेको बैठकले खनाललाई सभापतिमा चयन गरेको हो ।
समितिमा उप सभापति सहित सदस्यहरु बढिमा आठ जना सम्म रहने व्यवस्था छ । उपसभापति तथा सदस्यहरुको सिफारिशको अधिकार पनि सभापतिलाई प्रदान गरिएको अध्यक्ष गोल्छाद्वारा प्रदान गरिएको पत्रमा उल्लेख गरिएको छ ।
समितिबाट भएका गतिविधि एवं कार्यबारे अर्धवार्षिक रुपमा पुनरावलोकन गरी मूल्यांकन गर्ने व्यवस्था रहेको छ । महासंघको छबि तथा प्रतिष्ठालाई अझ बढि सशक्त रुपमा अघि बढाउन जिम्मेवारीपूर्वक काम गर्ने सभापति खनालले बताए ।
उद्योग वाणिज्य संघमा राम्रो प्रभाव कायम गरेका खनाल महासंघको सिफारिशमा यसअघिको कार्यकालमा राष्ट्रिय खेलकूद परिषद् (राखेप)को वोर्ड सदस्य नियुक्त भएका थिए ।