श्रावण ७, काठमाडौं । रोल्पाको थवाङ घर भएका कम्युनिष्ट नेता बरमन बुढाको ललितपुरमा उपचारका क्रममा निधन भएको छ । ९० वर्षका बुढा ललितपुरको पाटन अस्पतालमा उपचारको क्रममा बुधबार बिहान निधन भएको हो ।
विगत एक वर्षदेखि उनको आन्द्राको क्यान्सरको उपचार हुँदै आएको थियो ।बुढा २०४८ सालमा तत्कालीन जनमोर्चाबाट सांसद बनेका थिए । जनमोर्चाका विजयी आठ सांसदहरूमध्ये एकजना बरमन बुढा थिए ।त्यतिबेला संसदमा जनमोर्चाको नेतृत्व कृष्णबहादुर महराले गरेका थिए । तत्कालीन नेकपा (माओवादी)को जनयुद्धमा समेत बरमन बुढा होमिएका थिए ।
प्यूठान कारागारमा बस्दा मोहनविक्रम सिंहसँगको संगतले उनी कम्युनिष्ट बनेका थिए ।२०१२ सालमा थवाङ फर्किएर उनले कम्युनिष्टको बिजारोपण गरेको बताइन्छ ।