श्रावण ७, काठमाडौं । अविरल वर्षासँगै आएको बाढीपहिराका कारण मुलुकका विभिन्न राष्ट्रिय राजमार्गका एक सय बढी स्थानमा क्षति पुगेको छ । वर्षापछिको बाढीपहिराका कारण क्षति पुगेका राजमार्गका करिब तीन दर्जन स्थानमा अझै अवरोध हटेको छैन ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको सडक विभागका अनुसार गत २५ असारदेखि मंगलबारसम्म विभिन्न सडकखण्डका १ सय ३ स्थानमा क्षति पुगेको छ भने ती स्थानमा यातायात अवरुद्ध भएको थियो । जसमध्ये ३४ स्थानमा अझै अवरोध हटेको छैन भने कतिपय ठाउँमा आंशिक रूपमा सडक सञ्चालन भएको छ ।
सडक विभागले सडकखण्डमा रहेको अवरोध हटाउने प्रयास जारी राखे पनि भारी वर्षा तथा बाढीपहिराका कारण समस्या भइरहेको जनाएको छ । अवरुद्ध सडक खुलाउन नेपाली सेना, सशस्त्र प्रहरी, जनपथ प्रहरी, सडक विभागका कर्मचारीलगायत खटिरहेका छन् । अवरुद्ध कतिपय ठाउँमा डाइभर्सन गरेर यातायात आवतजावत गराइएको छ भने कतिपय ठाउँमा सडक मर्मतको काम भइरहेको छ । सडक विभागले कतिपय ठाउँमा मंगलबारसम्मै भारी वर्षा भएकाले सडक खुलाउन अप्ठ्यारो भएको जनाएको छ ।
सडक विभागका अनुसार अरनिको हाइवेअन्तर्गत सिरिसेमा ३० असारदेखि सडक अवरुद्ध रहेको छ । यस्तै, अरनिको हाइवेअन्तर्गतको जम्बु र झ्यालेको अवरुद्ध सडक पनि खुल्न सकेको छैन । सडक विभागले अरनिको हाइवेअन्तर्गतकै डाकलांगका विभिन्न तीन ठाउँका सडक अवरोध पनि नखुलेको जनाएको छ ।
साँफेबगर–मार्तडी सडकखण्डको अवरोध पनि अझै हटेको छैन । बेनी जोमसोम कोरोला सडकमा पनि अवरोध जारी छ । कान्ति लोकपथको घट्टेपख, बाघधारा, शिलालेख, छपेलीमा ३० असारदेखि सडक अवरुद्ध हुँदै आएकामा पहिरो पन्छाएर पुनः सुचारु गरिए पनि निरन्तर वर्षाका कारण पुनः सडक अवरुद्ध हुन पुगेको छ । निरन्तर वर्षासँगै खसेको पहिराले मंगलबार साँझसम्म नारायणगढ–मुग्लिङको चार किलोडाँडाको अवरोध पनि हटेको छैन ।
सडक डिभिजन भरतपुरअन्तर्गतको मलेखु–मुग्लिङको जोगिमारा र मलेखु धादिङबेंसी परेवाटारको सडक अवरोध पनि जारी छ । पृथ्वी राजमार्ग, सडक डिभिजन दमौलीअन्तर्गतको मुग्लिन पश्चिम, आवुखैरेनी गोरखा सडक, डुम्रे बन्दीपुर सडकको अवरोध हटाउने कार्य जारी छ ।सडक विभागले महाकाली राजमार्ग, सडक डिभिजन बैतडीअन्तर्गतको सातबाँझ–दार्चुला सडकखण्ड पनि अवरुद्ध रहेको जनाएको छ ।
बेनी जोमसोम कोरोला सडकअन्तर्गत लेते खोला, काइकु खोला, घासा, खहरे खोला, रुप्से, तातोपानी तथा सडक डिभिजन पाल्पाअन्तर्गतको बासुकाको अवरोध पनि हटेको छैन । ती स्थानमा मंगलबार साँझदेखि सडक सचारु भएको विभागले जनाएको छ । यो समाचार आजको राजधानी दैनिकमा रहेको छ ।