जेठ ९, रौतहट । प्रदेश २ का प्रहरी प्रमुख धिरजप्रताप सिंहको निर्देशनमा गत राति १२ः३० बजे आलमको राजपुर स्थित घरमा छापा मारेको छ। रौतहट क्षेत्र–२ का निलम्बित सांसद महमद आफताब आलम हत्या तथा विस्फोटक पदार्थ ओसारपसार मुद्दामा पुर्पक्षका लागि नख्खु कारागारमा रहेको अवस्थामा निलम्बित सांसद आलमका भाइ महमद महताब आलम पर्वको अवसरमा लुकिछिपी घरमा आएको सूचनाको आधारमा प्रहरीले उनको घरमा छापा मारेको हो ।
छापा मारे लगत्तै ठूलो संख्यामा गाउँलेहरुले डाँका आयो भन्दै होहल्ला सुरु गरेपछि प्रहरी टोली फर्किन बाध्य भएको थियो । आलमको घर अगाडि जम्मा भएको भीड हटाउन प्रहरीले १२ राउन्ड हवाइफायर समेत गरेको थियोे । घरमा महताब आलमलाई भने प्रहरीले फेला पार्न सकेन । गत असोज २६ गते नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्म अफताब आलम पक्राउ परेका थिए ।
अपराधीलाई पक्राउ गर्न साईत हेर्नुपर्दैन : डिआईजी सिंह
प्रदेश २ का प्रहरी प्रमुख डिआईजी धिरजप्रताप सिंहले आलमका भाइलगायत ३ जना फरार अभियुक्त घरमा आएको सूचनाको आधारमा प्रदेश र रौतहट प्रहरीको संयुक्त टोलीले घरमा छापा मारेको बताए । ‘अपराधीलाई पक्राउ गर्न साईत हेर्नुपर्दैन सूचना आउना साथ प्रहरी सक्रिय हुन्छ,’ डिआईजी सिंहको भनाइ छ । राजपुर बमकाण्ड घटनाका आरोपी मोहम्मद महताब आलम, मोहम्मद मोबिन आलम, शेख भदई, शेख सेराज, शेख फजले हक, सगिर आलम, शेख मलकार, बद्री सहनी, मुक्ति साहलयायतका व्यक्ति प्रहरीको फरार सूचीमा छन् ।