फागुन १०, कपिलवस्तु । नेपाल कम्युनिस्ट पार्टी राप्ती ब्युरो कार्यालय सचिव सविन पोख्रेल र राप्ती ब्युरो सदस्य तथा तत्कालीन दाङ जिल्ला सेक्रेटरी प्रदिप वली रिहाइ हुनु भएको छ । कपिलवस्तुको तौलिहवा हिरासतमा रहनुभएका उहाँहरु दुवै जनालाई सर्वोच्च अदालतले रिहाइ गर्न आदेश जारी गरेपछि बिहीबार साँझ रिहाइ हुनु भएको हो ।
नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य चन्द्र बहादुर चन्द ‘विरजंग’ सहित २१ जनालाई पार्टीको राप्ती ब्युरो बैठक बसिरहेको ठाउँ राजपुरको मुङग्रेठाबाट असोज ३० गते प्रहरीले गिरफ्तार गरि ७२ दिन दाङको हिरासतमा राखेको थियो । त्यसपछि दाङ जिल्ला अदालतले सबैलाई धरौटीमा रिहा गर्न आदेश जारी गरे पनि प्रहरीले रिहा गरेन ।
तुलसीपुर कारागारबाट जिल्ला अदालतमा धरौटी दाखिला गरि रिहाइ हुदा सविन र प्रदिपलाई पुन गिरफ्तार गरेर नवलपरासी लग्यो त्यहाँबाट पनि अदालतले रिहाइ गर्यो तर प्रहरीले तेस्रोपटक गिरफ्तार गरेर बुटवल राख्यो, त्यहाँ पनि अदालतले रिहाइको आदेश जारी गर्यो तर प्रहरीले चौथो पटक गिरफ्तार गरि पाल्पा हिरासतमा पुर्यायो त्यहाँ पनि अदालतले रिहाइ गर्यो तर प्रहरीले पाचौं पटक गिरफ्तार गरेर कपिलवस्तुको तौलिहवा हिरासतमा राखेको थियो । अन्ततः सर्वोच्च अदालतको रिहाइ गर्न आदेश जारी गरेपछि उहाँहरु दुवै जना रिहाइ हुनु भएको हो ।
२१ जना गिरफ्तारमध्ये अहिले विरजंगलाई तुलसीपुर कारागार राखिरहेको छ । सुवास, प्रयास पोष्टमानलाई रोल्पा कारागार लगिएको छ ।सुन्दर, विक्रम र विजयलाई दाङबाट बाँके, बाँकेबाट पनि परासी हिरासत पुर्याएको छ । विश्वलाई दाङ तुलसीपुर कारागारबाट सल्यान कारागार राखिरहेको छ । त्यस्तै दल बहादुुुर खत्री, चन्द्र बुढा, अमित घर्ती र हित बहादुर रोकालाई दाङबाट बर्दिया हिरासतमा राखिरहेको छ । सुरज र संकलनलाई रोल्पा हिरासत राखिएको छ भने बाकी रिहाइ भइसक्नु भएको छ ।