असोज ५, वीरगन्ज । भारतले प्याजको निर्यातमा रोक लगाएपछि नेपालमा त्यसको कृत्रिम अभाव सिर्जना गरेर महँगो मूल्यमा बेचिरहेका व्यवसायीलाई पर्सा प्रशासनले कारबाही थालेको छ । व्यवसायीहरुले प्याजको कृत्रिम अभाव देखाई बढी मूल्यमा बेच्न थालेपछि स्थानीय प्रशासनले त्यस्ता व्यापारीहरुकहाँ छापा मार्न थालेपछि कारवाही प्रक्रिया अघि बढाएको हो । प्रशासनले व्यापारीहरुलाई प्याज बिक्री-वितरण गर्न मूल्य तोकेपछि स्थानीय उपभोक्तहरुले राहत पाएको उपभोक्ता विजय पण्डितले बताए ।
पर्साका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ र व्यापारीहरुबीच भएको छलफलबाट प्याजको मूल्य तोकेको सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष विदुर गुप्ताले बताए । स्थानीय प्रशासनमा बसेको सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्रको आइतबार बसेको बैठकले हालका लागि प्याजको थोक मूल्य प्रतिकेजी ६५ र खुद्रा मूल्य प्रतिकेजी ७५ रुपैयाँ तोकेको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ । यसअघि व्यापारीहरुले कृत्रिम मूल्य सिर्जना गरी प्रतिकेजी सय रुपैयाँमा बेच्दै आएका थिए । तोकिएको मूल्यभन्दा बढी रकम लिएर प्याज बिक्री वितरण गरेको पाइए स्थानीय प्रशासनले कानुनबमोजिम कारबाही गरिने बताइएको छ ।
भारतले प्याजको निर्यातमा रोक लगाएपछि वीरगन्ज नाका हुँदै एउटा पनि प्याज बोकेका ट्रक नेपाल भित्रिएका छैनन् । यसअघि वीरगन्ज भन्सार नाकाबाट दिनको तीन ट्रकभन्दा बढी प्याज नेपाल भित्रिने गरेको वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकारी विमलकुमार साहले बताए । यता प्याजको अभाव हुन थालेपछि सीमावर्ती नाका रक्सौलबाट तस्करहरुले साइकलमा राखी नेपालतर्फ प्याजको तस्करी गर्न थालेको पाइएको छ ।