असोज ५, विराटनगर । सडकमा हिँडिरहेको बेला एक्कासी बेहोस भएका विराटनगरका एक चिकित्सकमा कोरोना संक्रमण पुष्टि भएको छ । शनिबार साँझ सडकमा हिँड्दै गर्दा कोशी अस्पताल नजिकै बेहोस भएका कोशी अस्पताल विराटनगरको बच्चा विभागमा कार्यरत चिकित्सक डाक्टर विनोद बिराजीलाई कोरोना संक्रमण पुष्टि भएको हो ।
तत्काल उपचारका लागि कोशी अस्पतालको इमरजेन्सी हुँदै आईसीयूमा भर्ना गरिएको थियो । आइसियूमा राखेर उपचार गर्ने क्रममा आइतबार उनलाई कोरोना पोजेटिभ देखिएको थियो ।मस्तिष्कमा पनि समस्या देखिएपछि आफन्तले उनलाई उपचारका लागि भारततर्फ लगेका छन् । कोशी अस्पताल विराटनगरका मेडिकल सुपरीटेण्डेन्ट डाक्टर चुमनलाल दासका अनुसार उनलाई आइतबार नै भारततर्फ लगिएको हो ।