मंसिर ५, चितवन। जिल्लामा चाडपर्वका समयमा दुर्घटना बढी भएको पाइएको छ । दशैँ र तिहार बीचको समयमा दुर्घटनाबाट मृत्यु हुनेको सङ्ख्या धेरै भएको हो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार चालु आर्थिक वर्षको पहिलो चार महिनामा सवारी दुर्घटनामा परी ३० जनाको मृत्यु भएको छ ।
तीमध्ये १० जना कात्तिक महिनामा मात्रै भएका हुन् । चार महिनाको अवधिमा दुर्घटनाबाट ८६ गम्भीर र ११२ जना सामान्य घाइते भएका छन् । मृत्यु हुनेमा पुरूष २५, महिला दुई, बालक एक र बालिका दुई रहेको कार्यालयले जनाएको छ । कार्यालयका प्रमुख प्रहरी निरीक्षक दयाकृष्ण भट्टका अनुसार पहिलो चौमासिकमा १२१ वटा दुर्घटना भएका थिए ।
तीमध्ये १८३ सवारी संलग्न छन् । गत आव २०७६ ७७ को पहिलो चौमासिकमा सवारी दुर्घटनाबाट ४५ जनाको मृत्यु भएको थियो ।