• २०८२ जेष्ठ २ गते बिहिवार

विराटनगरमा आठ जनाको मृत्यु, सात जना कोरोना संक्रमित, एकको रिपोर्ट आउन बाँकी

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कार्तिक ०४, विराटनगर । विराटनगरका विभिन्न अस्पतालमा उपचाररतमध्ये एकै दिन आठ जनाको मृत्यु भएको छ । मृत्यु भएकामध्ये सात जनाको कोरोना संक्रमणका कारण ज्यान गएको हो ।

मृत्यु हुनेमा पाँच महिला र दुई पुरुष छन् । कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा तीन जना, विराट नर्सिङ होम, न्युरो, विराट र नोबेल शिक्षण अस्पतालमा एक÷एक जनाको मृत्यु भएको हो । मोरङ कटहरी गाउँपालिका–२ आदर्श टोलकी २१ वर्षीया युवती, विराटनगर महानगरपालिका–१२ की ६४ वर्षीया वृद्धा महिला, सुनसरीको इटहरी उपमहानगरपालिका–५ का ३८ वर्षीय पुरुषको कोशी कोभिड केन्द्रमा मृत्यु भएको हो ।

मोरङको रंगेली नगरपालिका–३ का ८५ वर्षीय वृद्ध पुरुषको उपचारका क्रममा विराट नर्सिङ होम एवं अस्पताल प्रा.लिमा, विराटनगर महानगरपालिका–१० की ६४ वर्षीया वृद्धाको विराटनगरको न्युरो अस्पतालमा, विराटनगर महानगरपालिका–७ की ६९ वर्षीया वृद्धा महिलाको नोबेल शिक्षण अस्पतालमा, मोरङको बूढीगंगा गाउँपालिकामा रहेको विराट शिक्षण अस्पतालको आइसोलेसनमा झापाको बिर्तामोड नगरपालिका–४ की ७६ वर्षीया संक्रमित वृद्ध महिलाको मृत्यु भएको छ ।

विराटनगरको कोशी अस्पतालमा मृत्यु भएको मोरङको रतुवामाई नगरपालिका–४ का ४० वर्षीय पुरुषको भने पीसीआर परीक्षण रिपोर्ट आउन बाँकी छ ।
उपचारका लागि अस्पतालको आइसोलेसनमा भर्ना गरिएका उनको सोमबार राति १२ बजेतिर मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस