भाद्र ४ , काठमाडौं । टोखा नगरपालिकाले कोरोना पोजेटिभ भइ होम आइसोलेशनमा बस्न चाहने सङ्क्रमितलाई सन्तुलित भोजनका लागि प्रतिव्यक्ति प्रतिदिन रु ३५० उपलब्ध गराउने भएको छ । नगरप्रमुख प्रकाश अधिकारीका अनुसार संक्रमण पुष्टि भएका व्यक्तिले होम क्वारेन्टिनमा बस्न चाहेमा स्वास्थ्य शाखाको सिफारिस अनुसार सन्तुलित भोजनबापत प्रतिदिन ३५० रुपैयाँ उपलब्ध गराउने निर्णय भएको छ ।
‘नगरभित्र अहिलेसम्म ७७ जना संक्रमित भेटिएका छन् । २३ जना होम आइसोलेसनमा बसेका छन् भने २५ जना अस्पतालमा छन् । अरु डिस्चार्ज भएर घर गइसकेका छन् । नगरपालिकाभित्र आइसोलेसन सेन्टर निर्माण तथा व्यवस्थापनका लागि उपप्रमुख ज्ञानमाया डंगोलको संयोजकत्वमा ९ सदस्यीय समिति समेत गठन गरेको उनले बताए ।
कोरोना संक्रमित बढेमा उनीहरुलाई राख्नका लागि वडा नं १ को सामुदायिक भवन, ६ को सामुदायिक अध्ययन केन्द्र, ९ को पिस बैंक्वेट, ११ को सामुदायिक भवन, ९ को नेवाः पुछः सामुदायिक भवन, वडा नं ७ को राष्ट्रिय लोकदोहोरी प्रतिष्ठानको भवन प्रयोगमा ल्याउने बारेमा गठित समितिले अध्ययन गर्ने उनले बताए ।