• २०८१ फाल्गुन २ गते शुक्रवार

खाताबाटै हरायो साढे १६ करोड

पत्रपत्रिका पढ्न लाग्ने समय : १ मिनेट

श्रावण ५, काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पताल महाराजगन्जको बैंक खाताबाटै झन्डै साढे १६ करोड रुपैयाँ हराएको छ । अस्पतालको बैंक नगदी किताबले २०७६ असार मसान्तसम्ममा (मार्गस्थ र नगद ३ लाख रुपैयाँबाहेक) ९८ करोड २७ लाख ७५ हजार रुपैयाँ बैंक मौज्दात देखाएको थियो ।

सो मितिको बैंक स्टेटमेन्टअनुसार भने ८१ करोड ८३ लाख ६७ हजार रुपैयाँ मौज्दात छ । बैंकमा १६ करोड ४४ लाख ८ हजार रुपैयाँ घटी देखिएको छ । घटी देखिएको रकमका सम्बन्धमा छानबिन गरी बैंकमा जम्मा हुनुपर्ने महालेखापरीक्षकको वार्षिक प्रतिवेदनमा उल्लेख छ । तत्कालीन ग्लोबल बैंकमा २ करोड ६४ लाख ३८ हजार ऋणात्मक मौज्दात देखाएकोमा बैंक विवरण प्राप्त नभएकाले स्थिति जानकारी हुन नसकेको प्रतिवेदनमा जनाइएको छ । अस्पतालका निवर्तमान कार्यकारी निर्देशक डा. प्रेमकृष्ण खड्गाले ग्लोबलमा बैंकिङ कारोबार नगरिएको बताए । ‘खाता नभएको बैंकमा कसरी कारोबार हुन्छ र ? ’, डा. खड्गाले भने ।

यसैगरी नेपाल बैंकमा पाँच खाता, नबिल बैंकमा एक खाता र हिमालयन बैंकको एक खाता (राहत खाता)मा अस्पतालको स्रेस्ता अनुसार १ करोड ६२ लाख २० हजार मौज्दात थियो । तर, बैंकमा ११ लाख ७० हजार मात्र मौज्दात देखिएको महालेखाको प्रतिवेदनमा उल्लेख छ। यो खबर अन्नपूर्ण पोस्ट दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस