• २०८१ जेष्ठ ५ गते शनिवार

सहमति खोज्न दुई अध्यक्ष सघन छलफलमा

पत्रपत्रिका पढ्न लाग्ने समय : ३ मिनेट

श्रावण ५, काठमाडौं । नेकपामा देखिएको संकट निवारण गर्न अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच आइतबार सघन छलफल भएको छ । सहमतिको मिलनबिन्दु खोज्न अध्यक्षद्वयबीच बालुवाटारमा तीन घण्टा बढी छलफल भए पनि ठोस निकास भने निस्कन सकेको छैन ।

दुई अध्यक्षबीच सहमति खोज्ने उद्देश्यले सोमबार पुनः छलफल गर्ने निर्णय भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । आइतबारको छलफलमा अध्यक्ष ओलीका तर्फबाट महासचिव विष्णु पौडेल र अर्का अध्यक्ष प्रचण्डका तर्फबाट स्थायी कमिटी सदस्य जनार्दन शर्मा प्रभाकार पनि सँगै थिए ।

दुई अध्यक्षबीचको सहमतिबाटै समस्या समाधान हुने भएकाले अध्यक्षद्वयबीचको वार्ता र संवादलाई निरन्तरता दिइने निर्णय भएको नेताहरूले बताएका छन् । सोही निर्णयअनुसार दुई अध्यक्षले सोमबार पनि सघन छलफल गरी सहमतिको वातावरण बनाउने नेताहरूले बताएका छन् । दुई अध्यक्षबीच विगत केही दिनदेखि निरन्तर छलफल हुँदै आइरहेको छ । शनिबारको सचिवालय बैठक बस्नुअघि दुई अध्यक्षबीच छलफल भएको थियो । सचिवालय बैठकमा मंसिरमा एकता महाधिवेशन गर्ने प्रस्ताव ओलीले गरेपछि दाहालले मौन समर्थन गरेका थिए । महाधिवेशनसँगै सबै विवादको समाधान गर्ने सहमति भएको विश्वास गरिए पनि आइतबार दाहालले मंसिरमा महाधिवेशन गर्ने बारेमा आफ्नो समर्थन नरहेको जनाएका छन् ।

अध्यक्षद्वय ओली र दाहालबीच नै सहमति हुन नसक्दा नेकपाको जारी स्थायी कमिटी बैठक स्थगित हुँदै आएको छ । आइतबार बस्ने भनिएको बैठक अध्यक्षद्वयबीच सहमति नभएका कारण स्थगित भएको थियो । अर्को बैठक मंगलबार बोलाइएको छ ।

प्रचण्डको छुटै ब्रिफिङ
अध्यक्ष दाहालले मंसिरमा एकता महाधिवेशन गर्ने प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीको प्रस्तावमा आफ्नो समर्थन नरहेको स्पष्टीकरण दिएका छन् । दाहाल निवास खुमलटारमा आइतबार नेकपा सचिवालय र केही स्थायी कमिटी सदस्यहरूलाई ब्रिफिङ गर्दै दाहालले शनिबारको राजनीतिक घटनाक्रमका साथै महाधिवेशन प्रस्तावबारे प्रस्ट पार्दै प्रधानमन्त्री ओलीसँग कुनै सहमतिसमेत नगरेको बताए ।

शनिबार नेकपाको सचिवालय बैठकमा ओलीले मंसिरमा एकता महाधिवेशन गर्ने प्रस्ताव गरेका थिए । ओलीको प्रस्तावमा दाहालको समेत समर्थन रहेको भन्दै बैठकमै केही नेताले असहमति जनाएका थिए ।

शनिबारको बैठकमा दाहालले ओलीको प्रस्तावमा समर्थन गरे जस्तो गर्दै बैठक सकेर राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास गएपछि नेपाल, खनाललगायतका नेताहरू अध्यक्षद्वय मिलेको भन्दै सशंकित भएका थिए । आइतबारको खुमलटार बैठकमा सचिवालय सदस्य वामदेव गौतम र रामबहादुर थापा भने अनुपस्थित थिए । खुमलटार बैठकमा आफूसँग सहमति नै नगरी बैठकमा महाधिवेशनको प्रस्ताव आएको भन्दै दाहालले त्यसमा आफ्नो सहमति नभएको भन्दै नेताहरूलाई आश्वस्त पार्न खोजेका थिए ।

सुरुमा दाहालले वरिष्ठ नेताद्वय खनाल, नेपाल र प्रवक्ता श्रेष्ठसँग छलफल गरे । त्यसपछि स्थायी कमिटीका सदस्यहरू भीम रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, सुरेन्द्र पाण्डे, वर्षमान पुन, गोकर्ण विष्ट, देव गुरुङ, पम्फा भुसाल, डा. बेदुराम भुसाल, भीम आचार्य लगायतका नेताहरूसँग दोस्रो चरणमा छलफल गरेका थिए ।

छलफलमा अध्यक्ष दाहालले आफू सधैं सामूहिक छलफल र कमिटीको निर्णयअनुसार नै अगाडि बढ्ने प्रस्ट गरेका छन् । राष्ट्रपतिसँग भेटदेखि लिएर बैठकमा आएको प्रस्तावबारे जसरी बाहिर हल्ला भएको छ, त्यसमा कुनै सत्यता नभएको उनले बताए । ‘राष्ट्रपतिसँगको भेटघाट अप्रत्याशित रूपमा भएको हो, त्यो कुनै पूर्वनिर्धारित कार्यक्रम होइन, परिबन्धमा परेर भयो । तर जुन प्रकारले बाहिर हल्ला गरिएको छ, त्यसमा कुनै सत्यता छैन,’ दाहालले भने, ‘पार्टी कमिटीले सामूहिक रूपमा गर्ने निर्णय नै मानेर अगाडि बढ्ने हो ।’ अध्यक्ष दाहालले पार्टी तथा सरकारबारे आफ्नो जे अडान थियो, त्यो अझै कायमै नै रहेको बताउँदै त्यसमा कुनै प्रकारको शंका उपशंका नगर्न आग्रह गरेका थिए । छलफलमा नेताहरूले स्थायी कमिटी बैठकलाई निरन्तरता दिनुपर्ने निष्कर्षसमेत निकालेका छन् ।

बैठक पटक पटक स्थगित
नेकपा स्थायी कमिटी बैठक मंगलबार बस्ने भएको छ । आइतबारका लागि बोलाइएको बैठक बस्नुअघि नै स्थगित गरिएको छ । नेकपा केन्द्रीय कार्यालयका सचिवद्वय श्रीराम ढकाल र ईश्वरी रिजालले विज्ञप्तिमार्फत स्थायी कमिटी बैठक मंगलबार बस्ने जानकारी गराएका हुन् । नेकपा स्थायी कमिटी बैठक १० असारदेखि सुरु भएको हो । १८ असारयता बैठक बस्न सकेको छैन । बैठक बोलाउने तर बस्नुअघि स्थगित गर्न सूचना जारी गर्दै बैठक सार्ने काम भइरहेको छ । यो समाचार आजको राजधानी दैनिकमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस