चैत्र ७, काठमाडौँ । मुुलुकलाई थप सुरक्षित गर्ने निर्णय लिने गरी उपप्रधानमन्त्री ईश्वर पोखरेलले आजै साँझ उच्चस्तरीय बैठक बोलाएका छन् ।
नोबल कोरोना रोकथाम तथा नियन्त्रणसम्बन्धी उच्चस्तरीय समन्वय समितिका संयोजकसमेत रहेका उपप्रधानमन्त्री पोखरेलले शुक्रबार बिहानै प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर हालसम्मको अवस्थाबारे जानकारी गराएका थिए ।
प्रधानमन्त्रीले संक्रमणबाट मुलुकलाई जोगाउने सन्दर्भमा कुनै कमजोरी हुन नदिन पोखरेललाई निर्देशन दिएका छन् । कोरोनाविरुद्धको लडाइमा मुलुकको नेतृत्वको गरिरहेका उपप्रधानमन्त्री पोखरेलले शुक्रबार साँझ उच्चस्तरीय समन्वय समितिको बैठक राखेर थप निर्णय गर्ने सम्भावना रहेको स्रोतले जनाएको छ ।
जनतालाई घरबाट बाहिर निस्कन नपर्ने अवस्था सिर्जना गरेर मुलुकलाई लक डाउन गर्नेबारेमा छलफल भइरहेको स्रोतले जनाएको छ । उच्चस्तरीय बैठकपछि सरकारले थप कदम उठाउने र मुलुकलाई लक डाउनतर्फ लगेर सुरक्षत राख्नेबारे प्रधानमन्त्रीसँग परामर्श भएको स्रोतले जनाएको छ ।