असोज ३, काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार जेठ, असार र साउनमा थप २५ हजार ७ सय ५९ जनामा संक्रमण पुष्टि भएको थियो । तर, भदौमा मात्रै थप ३१ हजार ८६ जनामा संक्रमण पुष्टि भएको छ । जेठमा ५ हजार ४ सय ७७, असारमा १० हजार ९ सय ६६ र भदौमा ३१ हजार ८१ संक्रमित थपिएका थिए । यो तथ्यांकले संक्रमणको दर अत्यधिक रूपमा बढ्दै गइरहेको संकेत गर्छ ।
परीक्षणको दायरा बढाएसंगै संक्रमितको संख्या बढी देखिएको विज्ञहरूले बताएका छन् । पछिल्ला चार महिनामा ८ लाख २७ हजार ८ सय ३ जनाको आरटी–पीसीआर प्रविधिबाट कोरोना परीक्षण गरिएको छ । जसअनुसार गत जेठमा १ लाख १० हजार ७ सय १३, असारमा १ लाख ६० हजार १ सय ४६, साउनमा २ लाख १४ हजार ९७, भदौमा ३ लाख ४२ हजार ८ सय ४७ जनाको कोरोना परीक्षण गरिएको हो । १ र २ असोजमा २२ हजार ९९ जनाको कोरोना परीक्षण गर्दा ३ हजार २ सय ६६ जनामा संक्रमण देखिएको छ । देशभर शुक्रबार अहिलेसम्मकै सबैभन्दा धेरै २ हजार २० जना कोरोना भाइरस संक्रमित थपिएका छन् ।