भदौ ३, एजेन्सी । अमेरिकी डेमोक्र्याटिक पार्टीले जो बाइडेनलाई राष्ट्रपतिको उम्मेदवारका रुपमा औपचारिक अनुमोदन गरेको छ ।पार्टीको चार दिने अधिवेशनका क्रममा दोस्रो दिन बाइडेनलाई औपचारिक रुपमा उम्मेदवार घोषणा गरेको हो ।
डेमोक्र्याटिक पार्टीले कोरोना भाइरसको महामारीका कारण ठूलो सभा गर्नुको साटो यस पटक भर्चुअल विधिबाट अधिवेशन चलाइरहेको छ । पार्टीका निर्वाचित प्रतिनिधिहरुले भर्चुअल विधिबाटै ७७ वर्षीय बाइडेनलाई अनुमोदन गरेका हुन् । अमेरिकामा आउँदो नोभेम्बरमा राष्ट्रपतिको निर्वाचन हुँदैछ ।
मिल्वाकीको सम्मेलन केन्द्रलाई अधिवेशन स्थल तोकिए पनि स्वास्थ्य चुनौतीलाई ध्यान दिइ सबैजसो प्रबुद्ध व्यक्ति, शुभेच्छुक एवं पूर्वराष्ट्रपतिहरुले भर्चुअल विधिबाटै सम्बोधन गरिरहेका छन् । यी सम्बोधनहरु कुनै प्रत्यक्ष रुपमा गरिएका छन् भने कुनै रेकर्ड गरेर प्रसारण गरिएका छन् ।