• २०८१ पुष २९ गते सोमवार

सचिवालयको निचोड : सहमतिको विकल्प छैन

मिलनबिन्दु खोज्दै नेकपा
पत्रपत्रिका पढ्न लाग्ने समय : ४ मिनेट

श्रावण ४, काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकले पार्टीमा व्याप्त संकटलाई आपसी संवाद र सहमतिमा नै टुंगोमा पु(याउनुपर्ने निचोड निकालेको छ ।शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले पार्टी एकताको रक्षा र सुदृढीकरण गर्न नेपाली समाजको आवश्यकता र जनादेशअनुरूप अघि बढ्ने गरी नयाँ प्रस्ताव तयार गर्नुपर्ने विषयमा छलफल अघि बढाउने निर्णय गरेको हो ।

बैठकले पार्टीको आन्तरिक समस्या र संकटलाई सहमतिका आधारमा संवोधन र समाधान गर्ने गरि आवश्यक गृहकार्यलाई समेत जारी राख्ने निर्णय गरेको छ । बैठकमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल सहमति गरेर अघि बढ्नुपर्ने र नमिलेका विवादका विषय एकता महाधिवेशनबाटै टुंगो लगाउनुपर्ने भन्दै एकता महाधिवेशन आगामी मंसिरमा गर्न प्रस्ताव गरेका छन् । प्रधानमन्त्रीको सो प्रस्तावलाई अन्य शीर्ष नेताहरुले सकारात्मक रूपमा लिए पनि उनीहरु आश्वस्त हुन नसकेको बताइएको छ ।

सचिवालय बैठकमा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायतका शीर्ष नेताहरुले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामाको विषय उठान गरेनन् । सचिवालय बैठक निकै सौहार्दपूर्ण रूपमा सञ्चालन भएकाले धेरै विवाद मत्थर हुने क्रममा पुगेको नेताहरुले बताएका छन् । अब नेकपामा प्रधानमन्त्री ओलीको राजीनामा प्रकरण क्लोज हुने अवस्थामा पुगेको स्रोतको दाबी छ । नेकपा सचिवालय सदस्य एवं प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीभित्र देखिएको विवाद समाधानका लागि थप छलफल गरेर टुंगो लगाउने सहमति भएको बताए । नेकपा अध्यक्षद्वय ओली र दाहालसहित शीर्ष नेताहरुले छलफल गरेर विवाद समाधान गर्ने उनले बताए । ‘पार्टीको समग्र समस्याबारे आज राम्रोसँग छलफल भएको छ तर विवाद समाधान नभए पनि समाधान गर्नुपर्छ भन्नेमा सबैको जोड रहेको छ,’ श्रेष्ठले भने, ‘दुई अध्यक्षसहित शीर्ष नेताहरुले सहमतिमै विवाद टुंग्याउने सहमति भएको छ ।’

प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट राजीनामा दिनुपर्ने सचिवालय र स्थायी कमिटीका बहुमत सदस्यले माग गरेपछि विवाद सुरु भएको हो । तर, ओली दुवै पदबाट राजीनामा नदिने तर जस्तोसुकै परिस्थितिको पनि सामना गरेर अघि बढ्ने अडानमा रहँदै आएका छन् । शनिबारको सचिवालय बैठकमा अध्यक्ष ओलीले मंसिरमा महाधिवेशन गर्ने प्रस्ताव गरेपछि अर्का अध्यक्ष दाहालले सांकेतिक समर्थन र थप आश्वस्तता खोजेका थिए । यस्तै वरिष्ठ नेता माधवकुमार नेपालले सो प्रस्ताव लिखित रूपमा नै ल्याउनुपर्नेमा जोड दिएका थिए ।

ओलीले महाधिवेशनको प्रस्ताव गरेपछि सचिवालय सदस्यहरु ईश्वर पोखरेल, विष्णु पौडेल र रामबहादुर थापाले खुृलेर समर्थन गरेका थिए । तर, वरिष्ठ नेता नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठले लिखित रूपमा आउनुपर्नेमा जोड दिएका थिए । दुई अध्यक्षबीच गोप्य सहमति भएको हुन सक्ने भन्दै नेपाल पक्ष संशकित भएको छ । शनिबारको बैठमा अध्यक्ष दाहाल निकै लचिलो रूपमा पेस भएका थिए । दाहाल पार्टी एकतालाई जोगाउन लचक भएको उनी निकट एक स्थायी कमिटी सदस्यले बताए । विवाद समाधानका लागि बसेको सचिवालय बैठक सकेर अध्यक्षद्वय ओली र दाहाल राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतलनिवास पुगेका थिए ।

नेकपा स्रोतका अनुसार छलफलबाटै विवाद समाधान गरिने भएकाले थप छलफल जारी नै रहनेछ । आइतबार बस्ने भनिएको स्थायी कमिटी बैठक निर्धारित समयमै बस्ने नेकपा प्रवक्ता श्रेष्ठले बताए । १० असारदेखि जारी नेकपा स्थायी कमिटी बैठक १८ असारयता बस्न सकेको छैन । विवाद समाधान गर्न नेताहरुले पटक पटक बैठक स्थगित गर्दै आएका छन् । शनिबार सचिवालय बैठकअघि दाहाल निवास खुमलटारमा दाहाल, नेपाल, खनाल, गौतम र श्रेष्ठसहितको बैठक बसेको थियो । यता ओलीले समेत आन्तरिक छलफल जारी नै राखेका छन् । सचिवालय बैठक सुरु हुनुभन्दा अघि दाहाल र ओलीबीच ‘वान टु वान’ छलफल भएको थियो । शनिबारको सचिवालय बैठकमा बोल्दै प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले पार्टी फुट्न कुनै हालतमा पनि नदिने प्रतिबद्धता व्यक्त गरे । उनले पार्टी र सरकार सञ्चालनका क्रममा आफूबाट कुनै कमजोरी भए आत्मालोचना गर्न तयार रहेको र अन्य नेताहरुले पनि आत्मालोचना गर्नुपर्ने बताए ।

उनले अब मंसिरमा एकता महाधिवेशन गरी सबै विवाद समाधान गरेर नयाँ ऊर्जाका साथ अघि बढ्नुपर्ने बताए । अर्का अध्यक्ष दाहालले मंसिरमा प्रस्ताव गरिएको महाधिवेशनको समर्थन गर्दै सबै पक्ष एकजुट भएर अघि बढ्नुपर्ने बताए । वरिष्ठ नेता नेपालले छलफल र सहकार्य गरौं भन्ने प्रस्ताव राम्रो भए पनि दुई जना मिलेपछि सबैथोक राम्रो हुन्छ भन्ने भ्रम नपाल्न आग्रह गरे । यो समाचार आजको राजधानी दैनिकमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस