• २०८२ जेष्ठ २ गते बिहिवार

बाँकेमा ४१ जना कोरोना सङ्क्रमितहरू निको भएर घर फर्किँदै

महेन्द्र सिंह पढ्न लाग्ने समय : २ मिनेट

असार ५, बाँके । बाँकेमा शुक्रबार एउटै वडाका ४१ जना कोरोना सङ्क्रमितहरू निको भएर घर फर्किँदैछन् । उनीहरू सबै जानकी गाउँपालिकाको वडा नंं १ का बासिन्दा हुन् ।

स्वास्थ्य कार्यालय, बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठका अनुसार बाँकेको जानकी गाउँपालिकाको जोगागाउँ माध्यमिक विद्यालय आइसोलेसनका रहेका जानकी ९१ का ४१ जना संङ्क्रमितहरूलाई सरकारको मापदण्ड बमोजिम जाँच प्रक्रिया पूरा गरी निको भएपछि डिस्चार्ज गरिएको हो । सङ्क्रमण पुष्टि भएको १६ दिनपछि सरकारको नयाँ मापदण्ड अनुसार निको भएकोले उनीहरूलाई डिस्चार्ज गरिएको फोकल पर्सन श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार हालसम्म जिल्लामा सङ्क्रमण पुष्टि भएका ३२७ मध्ये दुई जनाको मृत्यु भइसकेको छ भने २५० जना निको भएर घर फर्किसकेका छन् ।

अब ७५ जना मात्र बाँकेका विभिन्न आइसोलेसन अस्पताल र सेन्टरहरूका रहेको पनि श्रेष्ठले बताउनुभयो । बाँकेका सङ्क्रमितहरू निको भएर फर्किने क्रम बढ्दैगएकोले जिल्लाका आइसोलेसन सेन्टरहरू पनि रित्तिन थालेका छन् । क्वारेन्टाइनहरूमा पनि अब दुई हजार जना मात्र रहेका छन् । भारतबाट आउनेहरूको सङ्ख्या पनि निकै घटेको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले बताउनुभयो । उहाँले बिहीबार ३९८ जना मात्र भारतबाट नेपालगञ्ज नाका भएर फर्किएको बताउनुभयो । उहाँका अनुसार एक साताअघिसम्म नेपालगञ्ज नाकाबाट फर्किनेहरूको सङ्ख्या १५ सय देखि दुई हजार सम्म रहेको थियो ।

प्रतिक्रिया दिनुहोस