जेठ ६, इलाम । इलाममा गए राति एक युवतीले आफ्नै बुबाको हत्या गरेकी छन् । इलाम देउमाई नगरपालिका–६ शान्तिडाँडाकी २५ वर्षीया छोरी सुष्मा राईले आफ्नै बुबा ५२ वर्षीय फुलबहादुर राईको हत्या गरेकी हुन् ।
शान्तिडाँडाको गोरेडाँडा निवासी आफ्नै बुबाको सधै झगडा भइरहने रातको समयमा झगडा हुँदा छोरीले नै हत्या गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।
घरमा जेठी छोरी सुष्मा साथै उनका बुबा र आमा मात्र रहेको अवस्थामा राति खाना खाइसकेपछि पनि झगडा भएको थियो । फुलबहादुरको टाउकोमा चोट देखिएको छ । टाउकोमा चिर्पट प्रहार गरेर हत्या गरेको हुनसक्ने बताइएको छ । “गहिरो चोट नदेखिएका कारण धारिलो हतियार प्रयोग नभएको हो कि जस्तो छ, अनुसन्धान भइरहेको छ”, प्रहरी जनायो । कान्छी छोरी र ज्वाइँसमेत शान्तिडाँडा घरमा आएको र हिजो दिउँसो पनि झगडा भएपछि गाउँमा सुत्न गएको बताइएको छ ।
छोरी सुष्मा बेलुकैबाट फरार रहेकाले खोजीकार्य जारी रहेको र घटनास्थलमा प्रहरी पुगेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।