• २०८१ फाल्गुन ७ गते बुधवार

डिआइजी बढुवा तयारी को को ?

धिरज प्रताप सिंहको नाम पहिलोमा
सागर थापा पढ्न लाग्ने समय : २ मिनेट

फागुन ७, काठमाडौं । नेपाल प्रहरीमा रिक्त रहेको १८ डिआईजी पदमा बढुवाका लागि गृह मन्त्रालयले तयारी थालेको छ । एआईजी बढुवाको समेतको चर्चा चलिरहेका बेला रिक्त रहेका डिआईजी पदमा सुरुको चरणमा बढुवाका लागि गृह मन्त्रालयले तिव्रताका साथ तयारी थालेको हो ।

नेपाल प्रहरीको २७ औं आईजीपीमा ठाकुर ज्ञवाली नियुक्त भएर २९ माघमा सर्वेन्द्र खनालको आईजी पदबाट अवकाश भएपछि उनीसँगैका ब्याची डिआईजीहरूको पनि अवकाश भएको थियो । तीन एआईजीहरू पुष्कर कार्की, ठूले राई र धिरु बस्न्यातको पनि अवकास हुँदा पदहरू रिक्त छन् । ‘तत्काल डिआईजीमा बढुवाका लागि तयारी भएको छ । एसएसपी बढुवा पनि सँगसँगै निकाल्ने तयारी भइरहेको छ’, स्रोतले भन्यो,‘त्यसका लागि प्रहरी प्रमुखलगायतसँग परामर्श भइरहेको छ ।’

डिआईजी बढुवामा दुईवटा ब्याचका अधिकारी छन् । हाल मानव स्रोत विभागका रहेका प्रहरी बरिष्ठ उपरिक्षक (एसएसपी) धीरजप्रताप सिंहसहितको बढुवाको तयारी भएको हो । एसएसपी घनश्याम अर्याल, गणेशबहादुर ऐर, पुरुषोत्तम कँडेल, प्रकाशजंग कार्की, वसन्त पन्त, ईश्वरबाबु कार्की, देवबहादुर बोहोराको पनि डिआईजीमा बढुवा तयारी गरिएको छ । यस्तै, काठमाडौं परिसर प्रमुख उत्तमराज सुवेदी, वसन्तकुमार लामा, दिवेश लोहनी, रवीन्द्र र धानुकलगायत बढुवाको लाइनमा छन् । डिआईजी बढुवा समितिको अध्यक्ष गृह मन्त्रालयका सचिव हुन्छन् । उक्त समितिमा आईजी सदस्य र गृहले रोजेका एआईजी वा डिआईजी सदस्य सचिव हुन्छन् । ‘गृह मन्त्रालयले प्रहरीमा कुनै पनि पद खाली नहोस् भनेर बढुवाको तयारी गरेको छ । आगामी सातासम्म डिआईजी र एसएसपीको बढुवा निस्कन सक्छ’, स्रोतले भन्यो ।

प्रतिक्रिया दिनुहोस