माघ ५, कास्की । नेपाल प्रहरीका भौतिक संरचनाहरुलाई पूर्वाधारयुक्त र सुविधा सम्पन्न बनाई प्रहरी सेवा प्रवाहलाई थप चुष्तदुरुष्त एंव नागरिक मैत्री बनाउन संगठन प्रमुख प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालद्वारा नव निर्माण हुन लागेको जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बैदाम पोखराको भवन शिलन्यास गर्नुभएको छ ।
भवनको शिलन्यास पश्चात कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक खनालले अपराध र अपराधी समृद्ध मुलुक निर्माण परिकल्पनाको बाधक भएको कुरा बताउँदै अपराधीलाई कानूनी दायरामा ल्याई कानून बमोजिमको सजया दिलाउन नेपाल प्रहरी प्रतिवद्ध रहेको कुरा बताउनुभयो । साथै नेपाल प्रहरीले अवलम्बन गरेको समुदाय प्रहरी साझेदारी अभियान अन्तर्गत विभिन्न जनलक्षित गतिविधिहरु गर्दै अगाडी बढिरहेको साथै यस अभियानले समाजमा शान्ति सु-व्यवस्था कायम र अपराध नियन्त्रणमा प्रभावकारीता पाईरहेको कुरा बताउँनुभयो ।
कार्यक्रममा धन्यवाद मन्तव्य राखनुहुँदै गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक विनोद शर्मा घिमिरेले नव निर्माण हुन लागेको प्रहरी भवनले प्रहरी सेवा प्रवाहमा थप उर्जा थप्ने एवं कार्य सम्पादनमा सहजता आउने कुरा बताउनुभएको छ । उक्त कार्यक्रमा भानु नगरपालिकाका प्रमुख उदयराज गौलीले नेपाल प्रहरीले अंगिकार गरेको समुदाय प्रहरी साझेदारी अभियानले नागरिक र प्रहरीको सहकार्यबाट अपराध न्यूनिकरण र शान्ति सुरक्षा कायम गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको कुरा बताउँनुभयो ।
साथै आजै प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले लागूऔषध प्रयोगको रोकथाम र नियन्त्रणका लागि सञ्चालित कानूनी तथा मनोसामाजिक नि-शुल्क “परामर्श सेवा केन्द्र” को समेत समुद्घाटन गर्नुभएको छ ।