• २०८२ जेष्ठ ४ गते शनिवार

विश्‍वमा २ करोडभन्दा बढी मानिस कोरोनामुक्त

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

आश्विन २ , काठमाडौँ। विश्वमा कोरोना भाइरसबाट विश्वभर संक्रमित हुनेको संख्या तीन करोड नाघेको जोन्स होप्किन्स विश्वविद्यालयको कोरोना भाइरस रिसोर्स सेन्टरले जनाएको छ । आजसम्म विश्वका विभिन्न देशमा गरी संक्रमितको संख्या तीन करोड ५९ हजार ८ सय ९६ रहेको छ । त्यस्तै संक्रमण पुष्टि भएकाहरुमध्ये २ करोड ४ लाखभन्दा बढी कोरोनामुक्त भएका छन् ।

त्यस्तै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ लाख ४४ हजार ३ सय ५८ रहेको छ । कोरोना संक्रमणबाट सबैभन्दा बढी प्रभावित अमेरिकामा शुक्रबार बिहानसम्म ६६ लाख ७२ हजारभन्दा बढी संक्रमित भएका छन् । त्यस्तै अमेरिकामा एक लाख ९७ हजारभन्दा बढीको मृत्यु भएको छ । अमेरिकामा निको हुनेको संख्या करिब २५ लाख ४० हजार रहेको छ । कोरोना भाइरसको संक्रमणको हिसाबले भारत दोस्रो स्थानमा रहेको छ । भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ५१ लाख १८ हजारभन्दा बढी पुगेको छ । भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८३ हजारभन्दा बढी पुगेको छ । संक्रमण पुष्टि भएकामध्ये भारतमा करिब ४० लाख निको भएका छन् ।

त्यस्तै ब्राजिलमा करिब ४४ लाख ५५ हजार संक्रमित भएका छन् भने करिब एक लाख ३५ हजारको मृत्यु भएको छ । ब्राजिलमा ३८ लाख ७३ हजारभन्दा बढी निको भएका छन् । त्यस्तै चौथो स्थानमा रहेको रुसमा संक्रमितको संख्या १० लाख ८१ हजार नाघेको छ । रुसमा कोरोना संक्रमणबाट करिब १९ हजारको मृत्यु भएको छ । रुसमा संक्रमण पुष्टि भएकामध्ये करिब ९ लाख निको भएका छन् ।

त्यस्तै नेपालमा संक्रमितको संख्या ५९ हजार ५ सय ७३ जना पुगेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार आजसम्म घर फर्किनेको संख्या ४२ हजार ९ सय ४९ जना रहेको छ भने मृत्यु हुनेको संख्या ३ सय ८३ जना पुगेको छ ।

प्रतिक्रिया दिनुहोस