श्रावण ३, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक भर्खरै सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा ३ बजेदेखि बसेको बैठक भर्खरै सकिएको हो ।
जनताले दिएको जनमतलाई सहमतिको आधारमा पार्टी र सरकार अघि बढ्ने विषयमा छलफल भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । प्रधानमनत्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले दुवै पदबाट राजिनामा दिने विषयमा छलफल भएको तर निश्कर्षमा भने पुग्न नसकेको समेत प्रवक्ता श्रेष्ठले जानकारी गराउनुभयो । पार्टी एकतालाई रक्षा र सुदृढ गर्ने गरी छलफल भएको जानकारी गराउँदै उहाँले जनताले दिएको जनादेश अनुसार नै काम गर्ने विषयमा छलफल केन्द्रीत भएको बताउनुभयो ।
उहाँले भोली तीन बजे हुने स्थायी कमिटीको बैठक हुने बताउनुभयो । स्थायी कमिटीमा समेत प्रधानमन्त्री तथा पार्टी अध्यक्षबाट राजिनामा दिनुपर्ने विषयमा औपचारीक प्रस्ताव नै नआएकाले पार्टी तथा सरकारको विभिन्न कोणबाट छलफल जारी रहने बताउनुभयो । पार्टीमा भएको छलफलमा आएका विषयहरुलाई समेत सम्बोधन गर्ने गरी कुन तरिकाबाट अघि बढ्न सकिन्छ सो विषयमा समेत छलफल भएको बताउनुभयो । पार्टीका नेताले ल्याउनुभएको कुराहरुलाई प्रस्तावको रुपमा आएपछि मात्र सो विषयका बारेमा गहृकार्य हुने उल्लेख गर्नुभयो ।
आजको सचिवालय बैठकले केन्द्रीय कमिटीको बैठक राख्ने बारेमा कुनै निर्णय नभएको समेत उहाँले जानकारी दिनुभयो । नेकपाभित्र देखिएको विवाद समाधान हुन नसक्दा लगातार बैठक बसिरहेका छन् ।