जेठ ५, नुवाकोट । फोहोर फालिने क्षेत्रको नागरिकहरुको कोरोना भाइरस संक्रमणको परीक्षण गर्ने सहमतीमा ककनी गाउँपालिका र काठमाडौं उपत्यका बीचको फोहोर व्यवस्थापनको विवाद टुङ्गिएको छ । भोली मंगलबार बिहानैबाट कोरोना भाइरसको परिक्षण सुरु हुनेछ भने आजबाटै काठमाडौंको फोहोर उठ्न थालेको छ ।
ककनी गाउँपालिकाले एम्बुलेन्स बाहेक सवारी आवत–जावतमा रोक लगाएको विज्ञप्ति जारी गरेर त्यसैको बाहनामा सिसडोलमा फोहोर विसर्जनमा समेत अवरोध गरेपछि समस्या सुरु भएको थियो । लकडाउनको अवज्ञा गर्दै उपत्यका आवतजावतले कोरोना संक्रमित बढेर उपत्यका अशान्त भैरहेका बेला उपत्यकाको फोहोर विसर्जनमा भएको अवरोधले थप समस्या भएको थियो । ककनी गाउँपालिकाले अति आवश्यक एम्बुलेन्स बाहेक सवारी आवत–जावतमा रोक लगाएको सूचना जारी गरेको थियो ।
ककनी गाउँपालिकाका अध्यक्ष मानबहादुर लामाले फोहोर व्यवस्थापन गरिदै आएको स्थान र फोहोर बोकेर सवारी साधन गुड्ने क्षेत्रका कम्तिमा पनि तीन हजार जनाको स्वस्थ्य परिक्षणको माग गर्नुभएको थियो । गाउँपालिकाका अध्यक्ष लामाका अनुसार काठमाडौं महानगरपालिकाले भोली मंगलबारबाट ककनी गाँउपालिकाको फोहोर फालिने क्षेत्रका तीन सय जनाको भाइरस परीक्षण गर्ने छ ।