माघ ४, काठमाडौं । समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सडक सुरक्षा एवं सुरक्षा सामाग्री हस्तान्तरण कार्यक्रम भक्तपुरस्थित कौशलटारमा शुक्रबार सम्पन्न भएको छ । सो अवसरमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्त कुमार नेम्वाङले महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेललाई सुरक्षा सामाग्री हस्तान्तरण गर्नुभयो ।
सो अवसरमा प्रमुख आतिथि भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्त कुमार नेम्वाङले नागरिक, विभिन्न संघसंस्थाहरुको सहभागिता भएमा मात्र सडक दुर्घटना न्यूनिकरण गर्न सकिने बताउनुभयो । सडक सुरक्षामा देखा परेका समस्याहरुको पहिचान गरी यसको समाधान गर्न नयाँ प्रविधिको प्रयोगले महत्वपूर्ण भूमिका खेल्ने बताउँदै सडक सुरक्षा थप व्यस्थित गर्न नेपाल सरकार प्रतिबद्ध रहेको उहाँले बताउनुभयो ।
कार्यक्रममा महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलले सडक सुरक्षा सबैको साझा विषय भएकोले नेपाल प्रहरीका साथै विभिन्न संघसंस्था र सडक प्रयोगकर्ताहरु उत्तरदायी हुनुपर्ने बताउनुभयो । सुखी नेपाली र समृद्ध नेपालको परिकल्पना पूरा गर्न र विकास निर्माणको कार्यलाई तीव्रता दिन सुरक्षा महत्वपूर्ण विषय रहेको उहाँले चर्चा गर्नुभयो । समुदाय-प्रहरी साझेदारी कार्यक्रम मार्फत नागरिकले प्रहरीलाई नजिकबाट नियाल्ने अवसर प्राप्त गरेको समेत उहाँले बताउनुभयो ।
कार्यक्रममा प्रतिनिधी सभाका सदस्य महेश बस्नेत र मध्यपुर ठिमी नगरपालिकाका प्रमुख मदन सुन्दर ९जगुलु० श्रेष्ठले आ-आफ्नो मन्तव्य व्यक्त गर्नुभएको थियो । महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख प्रहरी उपरीक्षक सविन प्रधानले स्वागत मन्तव्य तथा कार्यक्रम माथि प्रकाश पार्नुभएको सो कार्यक्रममा महानगरीय ट्राफिक महाशाखा रामशाहपथ काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीम प्रसाद ढकालले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।
उक्त सुरक्षा सामाग्रीहरु मध्यपुर ठिमी नगरपालिका, स्थानीय बैंक, सहकारी लगायत विभिन्न संघस्थाहरुको आर्थिक सहयोगमा नेपाल प्रहरीलाई हस्तान्तरण गरिएको हो । महानगरीय प्रहरी वृत्त ठिमीको आयोजना तथा मध्यपुर ठिमी नगरपालिका, सूर्यविनायक नगरपालिका, सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र, गठ्ठाघरको सहआयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा स्थानीय निकाय तथा विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु, प्रहरी कर्मचारीहरु, लगायत स्थानीय भद्रभलादमी एवं संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।