• २०८१ माघ ८ गते मङ्गलवार

अपहरण तथा बन्धक बनाई बलात्कार गर्ने अभियुक्तलाई १९ वर्ष कैद

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष २, सप्तरी । सप्तरीबाट अपहरण गरी १५ वर्षीया बालिकालाई सुनसरी पुर्याएर बन्धक बनाई बलात्कार गरेको आरोपमा एक किशोरलाई १९ वर्ष चार महिना कैद सजायको फैसला भएको छ ।

सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका–४ मधवापुरका किशोरलाई सप्तरी जिल्ला अदालतले कैद सजायका साथै जरिवाना तिराउने र क्षतिपूर्ति भराउने फैसलासमेत गरेको हो । जिल्ला न्यायाधीश चन्द्रमणि ज्ञवालीको इजलासले आरोपितलाई जबर्जस्ती करणी गरेको आरोपमा आठ वर्ष कैद, अपहरण तथा शरीर बन्धकतर्फ चार वर्ष आठ महिना कैद र ४६ हजार ६४६ जरिवाना तथा थप सजायतर्फ छ वर्ष आठ महिना कैद र रु ६६ हजार ६६६ जरिवाना तोकेको अदालतले जनाएको छ ।

आरोपितसमेत बालबालिका भएकाले दुई तिहाइ कैद सजाय हुने तर जरिवाना र क्षतिपूर्ति भने तिर्नुपर्ने ठहर भएको अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जनाउनुभयो । जिल्ला प्रहरी कार्यालय सप्तरीले आरोपितलाई ०७५ पुस ४ गते पक्राउ गरेको थियो । पक्राउ परेका आरोपितलाई सप्तरी जिल्ला अदालतले ०७५ पुस २८ गते बाल सुधारगृहमा पठाउने आदेश गरेको थियो ।

प्रतिक्रिया दिनुहोस