काठमाडौँ २, मंसिर । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले विमानस्थलको सुरक्षाका लागि छुट्टै सुरक्षा युनिट गठन गर्नुपर्ने आवश्यकता रहेको औल्याउँदै विमानस्थलको विशिष्टिकृत तालिम प्राप्त सुरक्षा युनिटको आवश्यकता रहेको बताउनुभयो ।
मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा निर्माण भएको सुरक्षा गार्ड भवनको समुदघाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री भट्टराईले विमानस्थलको सुरक्षाका लागि छुट्टै सुरक्षा युनिटको आवश्यकता रहेको बताउनुभयो ।अन्तर्राष्ट्रिय अपराधिक क्रियाकलापसँग र त्यस्ता संगठनहरुसँग नजिक भएका व्यक्तिहरु समेत विमानस्थलबाट आवतजावत गर्ने सम्भावना भएकाले त्यसको नियन्त्रणका लागि छुट्टै विशिष्टिकृत तालिम प्राप्त सुरक्षा युनिटको आवश्यकता पर्ने बताउनुभयो ।
त्यसका लागि आफुले सुरक्षा अंगहरु र सम्बन्धित मन्त्रालयसँग ‘विमानस्थल सुरक्षा प्रहरी’ नाम दिइएको छुट्टै सुरक्षा युनिट गठन गर्ने सम्बन्धमा छलफल अगाडी बढाएको जानकारी गरिउँदै मन्त्री भट्टराईले यस्तै देशभित्र सञ्चालित कतिपय विमानस्थलहरु दक्षिण र उत्तर तर्फको सीमाना नजिक रहेको र त्यस्ता विमानस्थल बढी संवेदनशील हुने भएकाले पनि विमानस्थल सुरक्षाको जिम्मेवारी दिनेगरी छुट्टै सुरक्षा युनिटको अवधारणालाई अगाडि ल्याउनुपर्ने बताउनुभयो ।