मंसिर २, काठमाडौँ । बंगलादेशको निमन्त्रणामा ढाकामा रहेको नेपाली फुटबल टोलीले मंगलबार दोस्रो मैत्रीपूर्ण खेल खेल्न लागेको छ । बंगलादेशस्थित बंगबन्धु रंगशालामा दोस्रो मैत्रीपूर्ण खेल अपराह्न पौने ५ बजे सुरु हुन लागेको हो ।
नेपालले बंगलादेशसँगको मैत्रीपूर्ण खेललाई कतार विश्वकप छनोटको तयारीस्वरूप लिएको छ । यसअघि शुक्रबार भएको पहिलो खेलमा नेपाल बंगलादेशसँग २–० गोल अन्तरले पराजित भएको थियो । बालगोपाल महर्जनको प्रमुख प्रशिक्षणमा रहेको नेपाली टोलीले दोस्रो खेल जित्ने लक्ष्य लिएको छ ।
कतार विश्वपकपका लागि एसियाली छनोट अन्तर्गत नेपालले ३ खेल खेल्न बाँकी छ । समूह ‘बी’ रहेको नेपालले अब चाइनिज ताइपेई, अस्ट्रेलिया र जोर्डनसँग खेल्न बाँकी रहेको हो । तर यसअघि कोरोनाका कारण स्थगित भएको छनोट खेलको नयाँ मिति तय भएको छैन। स्थगित भएको खेल दशरथ रंगशालामा हुनेछ।