मंसिर २, काठमाडौँ । महानगरीय प्रहरी वृत्त कालिमाटीको टोलीले काठमाडौँ महानगरपालिका–१४ कुलेश्वरमा ४४ वर्षीय शिव श्रेष्ठको घरमा जुवा खेलिरहेको अवस्थामा सात जनालाई पक्राउ गरेको छ । प्रहरीले रु दुई लाख ३८ हजार ८५० नगद र रु सात लाख ९४ हजार ८७० बराबरको विभिन्न बैंकको चेकसहित उनिहरुलाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार काठमाडौँ महानगरपालिका–१४ कुलेश्वरमा ४४ वर्षीय शिव श्रेष्ठको घरमा जुवा खेलिरहेको अवस्थामा काभ्रेका ४४ वर्षीय यादव चौलागाईँ, धादिङका ४१ वर्षीय राजु पौडेल, चितवनका ३१ वर्षीय राजीव श्रेष्ठ, केशवप्रसाद मुडवरी, बाराका ४१ वर्षीय श्याम तामाङ र कैलालीका २८ वर्षीय प्रेम बडवाललाई पक्राउ गरिएको हो ।
महानगरीय प्रहरी वृत्त कालिमाटीका प्रमुख प्रहरी नायब उपरीक्षक अपिलराज बोहराले ठूलो रकम हारजित हुने गरी जुवा खेलिरहेको सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको बताउनु भयो । प्रहरीले पक्राउ परेकासँग विभिन्न बैंकको ११ थान चेकबुक र एक बुक ताससमेत बरामद गरेको छ । पक्राउ परेकालाई जुवा ऐनअन्तर्गत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।