मंसिर २, हुम्ला । हुम्लामा दुई दिन लगातार हिमपात हुँदा चिसो बढेको छ । यो वर्ष जिल्लामा दोस्रोपटक हिमपात भएको छ । यसअघि कात्तिक १८ गते हिमपात भएको थियो ।
जिल्लामा आइतबार र सोमबार दुई दिन लगातार हिमपात हुँदा चिसो बढेको स्थानीय राजबहादुर बोहराले बताए । बिहानै तापक्रम माइनस सात डिग्री पुगेको छ । हिमपातपछि तापक्रम माइनसममा झरेसँगै सदरमुकाम सिमकोटसहित उत्तरी नाम्खा गाउँपालिकामा अत्यधिक चिसो बढेको छ ।
आइतबार बिहानै हिमपात हुँदा किसान खुशी भएका थिए । जेठासी बाली जौ, गहुँ र उवा छर्ने समयमा हिमपात हुँदा जोत्नलाई सहज हुने भएपछि किसान खुशी भएका हुन् ।