कार्तिक १, काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले मुलुकमा भएका विगत देखी हालसम्मका जस्तोसुकै भष्टाचारमा संलग्न भएका जतिसुकै ठूलो नेता भएपनि भ्रष्टाचारमा संलग्न भए उन्मुक्ति दिन नहुने बताउनुभयो । नागार्जुन नगरपालिकाले सिउचाटारमा निर्माण गरेको ओपन फिटनेस पार्कको शनिबार उदघाटन गर्दै नेता सिंहले मुलुकको समृद्धिको मुख्य बाधक तत्व नै भ्रष्टाचार भएकाले निमूल पार्ने गरी सरकार कठोर रुपमा अघि बढ्नुपर्नेमा जोड दिनुभयो । वर्तमान समयमा समेत ठूला ठूला भ्रष्टाचार काण्ड भएको भन्दै उहाँले त्यसको निष्पक्ष छानबिनको माग गर्नुभयो ।
हुम्लामा नेपाली भूमि चीनले अतिक्रमण गरेकोबारे बुझ्न गएको सरकारी टोली नपुग्दै परराष्ट्र मन्त्रीसमेत रहेका सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले भूमि मिचिएकै छैन भनेर अपरिपक्व अभिव्यक्ति दिएको बताउँदै उहाँले सरकारले आफ्नो भूमिसमेत दाबी गर्न नसकेको आरोप लगाउनुभयो । उहाँले भन्नुभयो, ‘आफ्नो राष्ट्रको भूभाग संरक्षण गर्दै सरकारले सुरक्षा दिन सक्ने कि नसक्ने जस्तो भान जनतालाई भइरहेको छ । यो दुर्भाग्य हो । सरकारको परराष्ट्र नीति नै असन्तुलित देखियो ।’ कार्यक्रममा नागार्जुन नगरपालिकाका मेयर मोहनबहादुर बस्नेतले स्युचाटारले प्रजातन्त्र स्थापनाका लागि कलंकीको मोर्चामा संघर्ष गर्दै बलिदान दिएको स्मरण गर्दै यो ठाउँमा नमूना विकास गर्ने प्रतिवद्धता जनाउनुभयो ।