असोज १, कालिकोट । कालिकोट कोरोना संक्रमण मुक्त जिल्ला बनेको छ ।बुधबार जिल्लाको तिलागुफा नगरपालिका–४ राँचुली आइसोलेसनबाट २० जना कोरोना सङ्क्रमित निको भएर घर फर्किएपछि कोरोना संक्रमण मुक्त जिल्ला बनेको हो । कालिकोट जिल्लाभर १०० जनामा कोरोना संक्रमण देखिएको सबै जना निको भएर घर गएको जिल्ला स्वास्थ्य सेवा कार्यालय कालिकोटका निमित्त व्यवस्थापक कटकबहादुर महतले बताए ।
कालिकोटमा हालसम्म ५ हजार ६९० जनाको पिसिआर विधिबाट स्वाब परीक्षण गरिएको र २ हजार ६६१ जनाको आरडिटी विधिबाट कोरोनाको परीक्षण गरिएकोमा १०० जनामा कोरोना संक्रमण देखिएको निमित्त व्यवस्थापक महतले जानकारी दिए । जिल्लाका नौ वटा स्थानीय तहमध्ये पचालझरना गाउँपालिका बाहेकका सबै स्थानीय तहमा कोरोना संक्रमणका बिरामी भेटिएको महतले बताए ।