• २०८१ साउन ८ गते मङ्गलवार

नागार्जुन नगरपालिकाका प्राविधिक सहायकको शैक्षिक योग्यताको प्रमाण-पत्र नक्कली

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार ३, काठमाडौं । नागार्जुन नगरपालिका कार्यालय, काठमाडौंमा प्राविधिक सहायक (ना.सु.) पदमा कार्यरत भुवन गिरीको शैक्षिक योग्यताको नक्कली रहेको अख्तियारले जनाएको छ ।

उनले शुरु नियुक्ति हुँदा एस.एल.सी. वा सो सरहको शैक्षिक योग्यताको प्रमाण(पत्र झुठ्ठा एवं नक्कली पेश गरी रामकोट गा.वि.स. कार्यालय काठमाडौंमा सोही शैक्षिक प्रमाण(पत्रको आधारमा ना.सु. सरहको पदमा बढुवासमेत भई कार्यरत रही सरकारी लाभ लिई भ्रष्टाचार गरेको भन्ने उजुरी सम्बन्धमा अनुसन्धान हुँदा उनको शैक्षिक प्रमाण पत्र नक्कली पाईएको हो ।

उनले नागार्जुन नगरपालिका कार्यालय, काठमाडौंमा प्राविधिक सहायक (चौथो तह( पदमा सेवा प्रवेश गर्नका लागि सोनाई पण्डित प्राथमिक सह माध्यमिक संस्कृत विद्यालय देवधा (मधुवनी)बाट मध्यमा पास गरेको उक्त प्रमाण(पत्र नक्कली पेश गरी प्राविधिक सहायक (चौथो तह) पदमा नियुक्ति भएका थिए । राष्ट्रसेवकको ओहोदामा वहाल रही उनले साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) अनुसारको कसुर गरेको देखिंदा उनलाई साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ तथा दफा २९ को उपदफा (२) र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप(पत्र दायर गरिएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जनाउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस