• २०८१ असार ९ गते शनिवार

मेडिकल कलेजले पायो पीसीआर परीक्षण अनुमति

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

श्रावण ३२ , चितवन । निजी क्षेत्रबाट कोरोनाको पीसीआर परीक्षणको अनुमति यहाँको चितवन मेडिकल कलेजले पाएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुले निरीक्षणपछि कलेजलाई प्रयोगशाला सञ्चालनको अनुमति दिएको हो ।

कलेजका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्राडा हरिशचन्द्र न्यौपानेले यही मङ्‍गलबारसम्ममा प्रयोगशाला सञ्चालनमा ल्याइने बताए । जिल्लामा हालसम्म निजी खर्चमा पीसीआर परीक्षण गर्ने प्रयोगशाला छैन । भरतपुर अस्पतालले सञ्चालन गरेको कोभिड-१९ प्रयोगशालामा स्वास्थ्य मन्त्रालयले निर्देशन गरेका सम्भावित सङ्क्रमितको मात्र निःशुल्क परीक्षण गरिँदै आएको छ ।

न्यौपानेका अनुसार नमुना परीक्षणका लागि ६ हजार ५० रुपैयाँ लिइनेछ । कलेजले भित्र्याइएको पीसीआर उच्चस्तरको हो । ६ घण्टामा ४०० जनाको नमुना परीक्षण गर्न सकिने न्यौपानेको भनाइ छ । कलेजमा पीसीआर परीक्षण गर्न सक्ने सातजना प्राविधिक छन् ।

दैनिक १८ घण्टा सञ्चालन गर्दा एक हजार २०० जनाको स्वाब परीक्षण गर्न सकिनेछ । कलेजले जडान गरेको पीसीआर उपकरण राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुको जस्तै हो । उनले भने, “टेकुको जस्तै प्रयोगशाला हाम्रो हो । यस्तो नेपालमा अन्यत्र छैन ।” यसलाई बीएसएलस्तरको भनिने उनको भनाइ छ ।

प्रयोगशाला निर्माणमा पाँच करोड ४० लाख खर्च भइसकेको कलेजले जनाएको छ । भरतपुर अस्पतालको प्रयोगशालामा मन्त्रालयको निर्देशिका बाहेककाले परीक्षण गर्न नपाउने भएपछि आफैँ शुल्क तिरेर परीक्षण गर्न चाहनेले अवसर पाएका थिएनन् । निजीस्तरबाट प्रयोगशाला सञ्चालनमा आएसँगै बिरामीले पैसा तिरेर परीक्षण गर्ने अवसर पाउने भएका हुन् । जिल्लामा दैनिक कोरोना सङ्क्रमण बढ्दै गएको छ । भरतपुर अस्पतालमा सङ्कलन भएको नमुनाको सङ्ख्या थपिँदै गएपछि नतिजा आउन एक सातासम्म कुर्नुपर्ने बाध्यता छ ।

निजी क्षेत्रबाट प्रयोगशाला सञ्चालनमा आएसँगै सरकारी प्रयोगशालामा परीक्षणको चाप केही घट्ने भरतपुर अस्पताल कोभिड १९ प्रयोगशाला प्रमुख डा. नीतु अधिकारीले बताइन् ।

प्रतिक्रिया दिनुहोस