श्रावण ३२, रोल्पा । नेकपाका प्रभावशाली नेता एवं प्रदेश नं. ५ का आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसीलेले पार्टीमा चलिरहेको आन्तरिक बहसलाई छताछुल्ल बनाउने भन्दा पनि पार्टी भित्र नै व्यापक छलफल गरी हल गर्न सकिने बताउनुभयो । उहाँले कतिपय नेताको भूमिका पार्टी एकता भन्दा पनि पार्टी विभाजनको पक्षमा रहेको बताउँदै अध्यक्षद्वयलाई नै उक्साइ रहेको खुलासा गर्दै त्यसले पार्टीलाई सही दिशामा नपु¥याउने दावी गर्नुभएको छ ।
उहाँले पार्टी एकतालाई मजबुत बनाउने हो भने सबैले पूर्व किराना भन्दा पनि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को उचाईबाट बहस छलफल गर्नुपर्ने बताउनुभयो ।
यस्तो कुरा मन्त्री के.सी.ले प्रेस संगठन नेपाल जिल्ला शाखा रोल्पाले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा लिबाङमा बताउनुभएको हो । उहाँले पार्टीको नीति र विधीमा सरकार सञ्चालन हुनुपर्ने धारणा राख्दै सरकार र पार्टीको बीचमा छलफल, समन्वयको अभाव रहेको स्वीकार गर्दै भन्नुभयोः–“पार्टीको सरकार हो, पार्टीको विधि विधान, नीति, योजना अनुसार चल्नु पर्ने हो तर त्यसमा केही छलफलको अभाव भएको हो, त्यसलाई हल गर्नुपर्दछ, । त्यसमा हाम्रो छलफलमा केही कमी भएको छ ।”
उहाँले पार्टी एकताका सबैको योगदान भएको बताउँदै अझ बढी केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड नै प्रमुख पात्र भएकाले अहिले अन्तरिम कार्यभिवभाजन गरी अगाडि बढ्नु पर्ने र स्थायी समाधान भनेको महाधिबेशनबाट नै गर्न सकिने धारणा प्रस्तुत गर्नुभयो । सरकारले हाल जनपक्षीय काम गरिरहेको बताउँदै राष्ट्रिय एकतालाई मजबुत बनाएको बताउनुभयो । उहाँले संघ, प्रदेश र स्थानीयतहले नै राम्रो काम गरिरहेको कुरा यो महामारीको बेलामा गरिएको कुशल व्यवस्थापनले नै देखाएको पुष्टि गरेको बताउनुभयो ।
अन्त्मा आफू कुनै पनि गुटको पक्षमा नरहेको बताउँदै समग्र पार्टी निर्माणको पक्षमा सबैलाई सहयोग गर्न तयार रहेको बताउँदै पार्टी विभाजनमा धेरै शक्ति लागेको बताउँदै यतिबेला पार्टी विभाजनभन्दा एकतालाई केन्द्र विन्दुमा राख्नु पर्ने बताउनुभयो । उहाँले रोल्पा जिल्लाको विकासका लागि नै सधै तयार रहेको बताउनुभयो । कार्यक्रम प्रेस संगठन रोल्पाका संयोजक देवी गुरुङले सञ्चालन गर्नुभएको थियो ।