• २०८२ जेष्ठ १ गते बुधवार

नेकपालाई थप सशक्त बनाउने प्रतिबद्धता

पत्रपत्रिका पढ्न लाग्ने समय : ३ मिनेट

जेष्ठ ३, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिस्ट आन्दोलनका दुई प्रतिनिधि पार्टीको एकता नेपालको राजनीतिमा सामान्य घटना नभएको बताउनुभएको छ ।

2020-05-16-14464

उहाँहरूले नेकपाको पार्टी एकतालाई जनताले अनुमोदनसमेत गरेको चर्चा गर्नुहुँदै सामाजिक–आर्थिक रूपान्तरण र समृद्ध नेपाल निर्माणको ऐतिहासिक जनादेश नेकपालाई प्राप्त भएको स्पष्ट पार्नुभएको छ । अध्यक्षद्वयले दलाल नोकरशाही पुँजीवादी शोषण, उत्पीडन र बाह्य हस्तक्षेपलाई परास्त गर्दै आर्थिक, सामाजिक तथा सांस्कृतिक क्षेत्रका सामन्तवादका अवशेषहरूलाई समाप्त गरिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

स्वाधीन राष्ट्रिय अर्थतन्त्रको जगमा समृद्ध नेपाल निर्माण गर्ने विषयलाई तात्कालिक कार्यभारका रूपमा तय गर्दै तिनलाई कार्यान्वयन गर्न पार्टी नेतृत्व केन्द्रित रहेको समेत स्पष्ट पारिएको छ । संयुक्त विज्ञप्तिमा भनिएको छ, “स्वस्थ छलफलमा आधारित उन्नत वैचारिक एकता, स्वअनुशासनमा आधारित उन्नत सङ्गठनात्मक एकता र उच्च संस्कारयुक्त, भावनात्मक एवं कमरेडली सम्बन्धले मात्रै यो ऐतिहासिक दायित्व पूरा गर्न सकिन्छ ।”

मदन–आश्रित स्मृति दिवसकै दिन पारेर दुई वर्षअघि जेठ ३ गते नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीच पार्टी एकता घोषणा गरिएको थियो । पार्टी एकताको वैचारिक, राजनीतिक जगका रूपमा माक्र्सवाद–लेनिनवादको मार्गदर्शनलाई लिइएको र रणनीतिक लक्ष्यका रूपमा वैज्ञानिक समाजवाद रहेको विज्ञप्तिमा उल्लेख छ । नेपालको विशिष्ट परिस्थितिमा त्यसको सिर्जनात्मक प्रयोग र विकास गरी तात्कालिक कार्यक्रमका रूपमा जनताको जनवादलाई अगाडि सारिएको छ ।

नेपालको कम्युनिस्ट आन्दोलनले विभाजन र एकताका अनेकौँ शृङ्खला पार गर्दै आउने क्रममा शान्तिपूर्ण जनआन्दोलन, संसदीय सङ्घर्ष र जनयुद्धको बाटोबाट अघि बढेको चर्चा विज्ञप्तिमा गरिएको छ । “एमाले र माओवादीको पहलकदमी र वैचारिक नेतृत्वमा २०६२÷६३ को शान्तिपूर्ण जनक्रान्तिबाट राजतन्त्रको अन्त्य र सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको हो”, विज्ञप्तिमा भनिएको छ, “जसबाट सामाजिक न्याय, समावेशी एवं समानुपातिक लोकतान्त्रिक प्रणाली एवं धर्मनिरपेक्षताजस्ता उपलब्धिहरू हासिल भएको छ ।”

“संविधानको सर्वोच्चता, विधिको शासन, मानव अधिकार एवं मौलिक हकको प्रत्याभूति, शक्ति पृथकीकरणको सिद्धान्त, बहुलतायुक्त खुला समाजप्रति प्रतिबद्ध छौँ,” विज्ञप्तिमा उल्लेख छ, “बहुदलीय प्रतिस्पर्धा, आवधिक निर्वाचन, जननिर्वाचित प्रतिनिधिहरूद्वारा सरकार सञ्चालन, प्रतिपक्षको संवैधानिक व्यवस्था, स्वतन्त्र न्यायपालिकालगायत आधुनिक लोकतन्त्रका विश्वव्यापी मूल्य–मान्यतामा नेकपा प्रतिबद्ध छ ।”

पार्टीले जनक्रान्तिका उपलब्धिहरूको रक्षा गर्दै शान्तिपूर्ण, संवैधानिक र लोकतान्त्रिक बाटोबाट सामाजिक–आर्थिक रूपान्तरण गर्ने तात्कालिक लक्ष्य निर्धारण गरेको छ । राष्ट्रिय पुँजीको विकास गर्दै सामाजिक न्याय एवं लोकतान्त्रिक मूल्यसहितको समाजवादको आधार निर्माण गर्ने विषयलाई समेत प्रमुखताका साथ निर्धारण गरेको विज्ञप्तिमा जनाइएको छ ।

विज्ञप्तिमा ‘समृद्ध नेपाल र सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न थुप्रै कठिनाइ र सीमाका बाबजुद पनि उल्लेखनीय उपलब्धि हासिल गरेको उल्लेख छ । पार्टीको सङ्गठनात्मक एकीकरण आधारभूत रूपमा सम्पन्न गरिएको चर्चा गर्दै ‘पार्टी एकता सुदृढीकरण र जनसम्बन्ध विस्तार अभियान’ सञ्चालन गर्दै एकता महाधिवेशनको तयारी गर्ने योजना कोरोना भाइरस (कोभिड–१९)का कारण प्रभावित भएको विज्ञप्तिमा जनाइएको छ ।

विज्ञप्तिमा भनिएको छ, “अब पनि एकीकरणका बाँकी कामहरूलाई छिट्टै सम्पन्न गर्दै पार्टीको सम्पूर्ण शक्तिलाई राष्ट्रिय राजनीतिक अभिभारा पूरा गर्नमा केन्द्रित गर्नु आवश्यक छ ।” स्वर्गीय नेताद्वय मदन भण्डारी र जीवराज आश्रितप्रति उहाँहरूले हार्दिक श्रद्धाञ्जलि व्यक्त गर्नुभएको छ ।

२०५० साल जेठ ३ गते त्रिशूलीमा भएको जीप दुर्घटनामा मदन–आश्रितको मृत्यु भएको थियो । सो घटनालाई नेकपाले ‘रहस्यमय घटना’ का रूपमा लिएको छ । विज्ञप्तिमा मदन–आश्रितको रहस्यमय घटनाको यथार्थ सार्वजनिक गर्न निरन्तर लागिरहने प्रतिबद्धतासमेत व्यक्त गरिएको छ । याे समाचार गाेरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस