चैत ३, प्युठान । वर्तमान समयमा महिलाहरु विभिन्न सिप सिकेर आत्मनिर्भर बन्ने प्रयासमा छन् । आफ्नो हातमा सिप नहुदा भने जस्तो आय आर्जन गर्न समेत नसकिने भन्दै महिलाहरु रोजगार मुलक सिप सिकेर व्यापार व्यवसाय तर्फ आर्कषित बन्न थालेका छन। त्यस्तै एउटा उदाहरण बन्न पुगेको छ तारजाली बुन्ने तालीम ।
प्युठान नगरपालिका–८ दम्तिकी २६ बर्षिय बसन्ता के एम केहीदिन अघिसम्मको दिनचर्या घरधन्दामै बित्ने गर्थ्यो। उनी हरेक दिन साँझबिहान घरको खाना पकाउने, छोराछोरी स्याहार्ने र गाईवस्तु पाल्नमै दिन बिताउने गर्थिन ।
एकदिन उनले घर नजिकै कालिका बिकास केन्द्र नेपाल पानी परियोजनाको आर्थिक सहयोग र झिमरुक स्किल डेभलपमेन्ट एण्ड भोकेश्नल एजुकेसन प्युठानले सिपमूलक तालिम सिकाउँदै छ भन्ने कुरा सुनिन् । त्यहाँ पुगेकी उनले तारको जाली बनाउने तालिम सिक्न थालिन । यतिबेला उनी तारको जाली बनाउने तालिम अन्तर्गत लेभल–१ सिप सिकिरहेकी छन ।
छोरीहरुले केहि गर्न सक्दैनन् भन्ने अन्धविस्वासलाई तोड्नका लागि पनि यो काम गर्न अगाडि बढेकी हुँ ।’ उनले भनिन्’यो व्यवसाय बाट राम्रो आम्दानीको सम्भावना देखेकी छुँ , तालिम बाट पाएको अनुभव बाट १ दिनमा कम्तिमा पनि १० थान जालि तयार गर्न सकिने अनुमान छ ।
तालिम संचालन भएको अहिले १० दिन भए । शुरुमा मेसो आएन् रिङ्ग बनाउन मुस्किल पर्यो । अहिले काममा हात बसे । अहिले जाली नै तयार गर्न थालेको बताउँछिन् । ‘१० नबज्दै सिक्न आउने दिदिबहिनीहरुको तँछाड र मछाड छ ।
सिप सिक्न थालेपछि घरधन्दामै सिमित कुमाल महिलाहरुमा आत्मविश्वास बढेको छ । उनीहरु जीवनमा आफै पनि केही गर्न सकिन्छ भन्ने अवस्थामा पुगेको बताउँछन । ‘पहिले त कसैसँग बोल्न पनि डर लाग्थ्यो’ के एम ले भनिन्–‘अहिले हिम्मत बढेको छ ।’ उनी जस्तै थुप्रै कुमाल महिलाहरु विभिन्न सिपमूलक तालिमतर्फ आकर्षित भएका छन ।
यस्ता सिपमूलक तालिममा निरक्षर मात्रै हैन साक्षर कुमाल महिलाहरुको समेत सहभागिता देख्न सकिन्छ । सोही ठाउँकी २० बर्षिय भगबता के एम ले एसएलसी उत्तीर्ण गरेकी छन । उनले उच्च शिक्षा अध्ययनको यात्रा त्यागेर सिपमूलक तालिमतर्फ मोडेकी छन । ‘धेरै पढ्न आर्थिक अवस्थाले भ्याएन’ उनले भनिन्–‘पहिले सिप सिक्छु आफ्नो खुट्टामा उभियो भने केही गर्न सकिन्छकि।’
सिपमूलक तालिम अन्तर्गत तारको जालिबुनाई कुमाल महिलाको पहिलो रोजाई बनेको छ ।
इन्स्टिच्यूटले तारजाली मात्रै हैन अन्य थुप्रै सिपमूलक तालिम सञ्चालन गरेको छ । सस्थाका कार्यकारी निर्देशक राम बहादुर बिश्वकर्माले बताए । गुणस्तरिय सामग्री उत्पादन गर्न नसकेका कारण बजार नपाउने र त्यसपछि कतिपय उद्यमीले निराश भएर व्यावसाय छाड्ने गरेको बिश्वकर्माको भनाई छ । तालिम मार्फत सीप सिकेकाहरु कम मात्रै व्यावसायमा जोडिएको बताए । उनले स्थानीय तह विकास निर्माणमै बजेट खर्च गर्न आकर्षित नभएर उद्यम मार्फत आयआर्जन सृजना गर्ने काममा लाग्नुपर्ने बताउँछन।
सतप्रतिशत कुमाल महिलाको सहभागिता छ’ उनले भने–‘यो कुमाल महिला आत्मनिर्भर बन्न चाहन्छन भन्ने सन्देश हो।’पहिलो पटक गाउँमा सिपमूलक तालिमको अवसर प्राप्त गरेकोमा कुमाल महिलाहरु निकै खुशी छन । उनीहरुले ४० दिन सम्म ३९० घण्टा तारजाली बनाउने बारेमा सिक्नेछन । ”
सिपमूलक तालिममा सहभागीहरुलाई सम्बन्धित स्थानीय तहका ८ नम्बर वडा का अध्यक्ष लिलाप के सिले तारको ब्यबस्था गर्नुभएको हो। कुमाल महिलालाई लक्षित गरेर आयोजना गरिएको सिप बिकास तालिमबाट महिलाहरु आत्म निर्भर हुन सक्ने अध्यक्ष के सि को भनाई छ ।
सबैलाई जानकारी गराएर यस्तो तालिम सुरु गरिएको हो तर सबै कुमाल महिलाहरु सम्पर्कमा आएको कालिका बिकास केन्द्र नेपालका कार्यक्रम संयोजक खुम बहादुर थापा बताउँछन । ‘सूचना त सबैका लागि थियो तर सबै कुमाल महिला मात्रै आए’ उनले भने–‘कुमाल महिला सिप सिक्न चाहन्छन ।’ महिलाहरु ब्यवसायमूखी होउँन भन्ने उद्धेश्यले यस्ता खालका कार्यक्रमको आयोजना गरेको थापाले बताए ।
कुमाल महिलाको सिपमूलक तालिमतर्फको आकर्षणले राम्रो सन्देश दिएको छ । कुनै समय अर्काको घरमा कमैयाँ बसेका कुमाल महिलाहरु यतिबेला सिप सिकेर आत्मनिर्भर बन्न खोज्नु सुखद पक्ष भएको उद्घम बिकास सहजकर्ता शारदा बिश्वकर्मा बताउँछिन । उनी कुमाल महिलाको सोचमा आएको परिवर्तनले अन्य समुदायका महिलामा समेत यसको सकारात्मक असर पुग्ने बताउँछिन ।
गाउँमा महिलाहरुको समय व्यावस्थापन नै चुनौतिको बिषय देखिन्छ ‘घरको सवै काम महिलाहरुको काँधमा भएकाले फुर्सद कम हुन्छ,’उनले भनिन,‘जेनतेन आए पनि फर्कनै हतार हुन्छ ।’
लगावले मात्रै अर्थोपार्जन:
कुमाल महिलामा सिप सिक्ने उत्साह देखिएको तालिमका प्रशिक्षक उमार वलिले बताए । फुर्सदको कामले पनि महिनामा धेरै कमाउन सकिने प्रशिक्षक वलिले बताए । ‘काममा लगाव भए सिक्न मुस्किल छैन,’उनले भने,‘घरमै गरेको कामले पनि परिवार मज्जाले पाल्न सकिन्छ ।’ १६ बर्षदेखि तारजालिको काम गरिरहेका सुनसरीका प्रशिक्षक वलिले तालिमलाई व्यावहारमा उतारे राम्रो आम्दानी हुने बताए । तालिमपछि तारजाली बनाउन सकिने भएकाले घरमै उद्यम सृजना गरेर जिविकोपार्जन गर्न कुनै समस्या नहुने वलिको भनाई छ ।
कुनैबेला घरधन्दामै दिन बिताउने कुमाल महिलाहरु सिप सिकेर आत्मनिर्भर बन्ने बाटोमा अग्रसर भैरहेका छन ।