- भाबना हमाल
माघ २, दैलेख । नारायण नगरपालिकाका उपमेयर सावित्री मल्लले आयुर्वेद र योग शारीरिक स्वस्थ अनि सन्तुष्टीको महत्वपूर्ण आयाम भएको बताउनुभएको छ । पाँचौं राष्ट्रिय योग दिवसको अवसरमा बेलासपुर आयुर्वेद औषधालयको आयोजित कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो ।
आयुर्वेद औषधि दीगो उपचार भएको कारण सरकारले यसलाई बढावा दिएको र बेलासपुर आयुर्वेद औषधालयको तत्परतालाई हौसला प्रदान गर्न नारायण नगरपालिका सहयोग गर्न तयार रहेको उपमेयर मल्लले बचन दिनुभयो । कार्यक्रममा दैलेखका प्रमुख जिल्ला अधिकारी युवराज कटेलले व्यक्तिको खानपिन, लवाईखुवाई, आहारविहारले सोचाई, विचार र भावनाहरु पैदा गर्न योग अभ्यास र आयुर्वेद औषधि उपयोगी भएको बताउनुभयो ।
कार्यक्रममा नेपाली काँग्रेसका नेता मणिराम रेग्मी, नारायण नगरपालिका–३ का वडासदस्य हर्कबहादुर नेपाली, बेलासपुर आयुर्वेद औषधालयका वैद्य राजीव भारती र योग प्रशिक्षक शंकर थापाले राष्ट्रिय योग दिवस र आयुर्वेदिक औषधिको महत्व बारे प्रकाश पार्नुभएको थियो ।
त्यसअघि राष्ट्रिय योग दिवसको अवसरमा सरस्वती बृद्धाश्रम भवनमा विहान योग अभ्यास र अभिमुखीकरण समेत गरिएको थियो । योग अभ्यासपछि व्यानर र स्वदेशगान सहित नगरपरिक्रममा गरिएको थियो ।