भाद्र ३०, विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले यातायात व्यवसायीहरुसँग छलफल गरेका छन् । असोज ५ बाट सार्वजनिक यातायात सञ्चालन हुने निर्णय भएपछि यातायात क्षेत्रका सरोकारवाला निकायहरुसँग मुख्यमन्त्री राईले मंगलबार भर्चुअल छलफल गरेका हुन् ।
लामो समयपछि यातायात सञ्चालन हुने भएपछि यसलाई कसरी सुरक्षित र व्यवस्थित गर्ने भन्नेबारेमा मुख्यमन्त्री राईले सरोकारवालाहरुसँग छलफल गरेका उनका प्रेस सल्लाहकार ध्रुव सुवेदीले जानकारी दिए । छलफलमा मुख्यमन्त्री राईले असोज ५ गतेअघि यातायात व्यवसायीहरुलाई स्वास्थ्य सजगता अपनाउँदै आफ्ना कर्मचारीहरुको विवरण तयार गर्न आग्रह गरेका छन् । उनले यातायात व्यवसायीहरुको साझा समस्याहरुलाई सरकारले सम्बोधन गर्दै जाने बताएका छन् ।
मुख्यमन्त्री राईले स्वास्थ्य सुरक्षामा विशेष ध्यान दिन यातायात व्यवासीहरुलाई आग्रह गरेका छन् । उनले माक्स, स्यानिटाइजरजस्ता स्वास्थ्य सुरक्षाका साधन प्रयोग गरेर सावधानीहरु अपनाउन आग्रह गरेका हुन् । यात्रुको विशेष ध्यान दिन पनि उनले व्यवसायीहरुलाई आग्रह गरे ।