श्रावण ३१ ,काठमाडौँ। मुलुकभरमा ८६.४४ प्रतिशत घरपरिवारमा राष्ट्रिय प्रशारण प्रणालीको विद्युत पुगेको छ । नेपाल विद्युत प्राधिकरणको तथ्याङअनुसार राष्ट्रिय ग्रिडमार्फत सबैभन्दा बढी प्रदेश २ का घरपरिवारमा विद्युत्को पहुँच पुगेको छ भने सबैभन्दा कम कर्णाली प्रदेशमा छ ।
प्रदेश २ मा राष्ट्रिय प्रसारण प्रणालीमार्फत ९९।०५ घरपरिवारमा विद्युत् पुगेको छ । प्राधिकरणले कर्णाली प्रदेशमा ३४.७४ प्रतिशत विद्युतीकरण गरेको छ । सरकारले वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रमार्फत राष्ट्रिय ग्रिड पुग्न नसकेको ठाउँमा सौर्य, लघुजलविद्युत माइक्रोहाइड्रो लगायतमार्फत पनि विद्युतीकरण गर्दै आएको छ । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयको तथ्याङअनुसार, अहिले ९० प्रतिशतभन्दा बढी जनसंख्यामा विद्युत्को पहुँच पुगेको छ ।
‘आव २०७२०७३ मा ६२.१६ प्रतिशत घरपरिवारमा मात्रै विद्युतीकरण भएको थियो, चार वर्षभित्र २३.२८ प्रतिशतले विद्युतको पहुँचमा बृद्धि भई अहिले ८६.४४ प्रतिशत पुगेको छ’, प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भने । ‘आगामी साढे दुई वर्षभित्र हरेक नेपालीको घरमा विद्युत्को पहुंच पुर्याउने लक्ष्यका साथ विद्युतीकरण अगाडि बढाएका छौ, यसकां लागि बजेटको जोहो भइसकेको छ । एसियाली पूर्वाधार लगानी बैकले कम विद्युतीकरण भएका कर्णाली र सुदूरपश्चिम प्रदेशका लागि सहुलियतपूर्ण ऋण प्रवाह गर्दै छ ।
सरकारले २०७९ सन् २०२२० भित्रमा प्रत्येक घरधुरीमा विद्युत् सेवा पुर्याउने र चार वर्षभित्रमा प्रतिव्यक्ति विद्युत खपतलाई ७०० युनिट पुर्याउने लक्ष्य राखेको छ । अहिले प्रतिव्यक्ति ऊर्जा खपत २ सय ६० युनिट पुगेको छ ।
कर्णाली प्रदेशमा राष्ट्रिय प्रसारण प्रणालीबाट ग्रिड ३०।५७ र अफ ग्रिडबाट ४.१७ प्रतिशत विद्युतीकरण गरिएको छ । कर्णाली प्रदेशका १० जिल्लामध्ये हुम्ला, जुम्ला, डोल्पा, कालिकोट र मुगुमा अहिलेसम्म राष्ट्रिय प्रसारण ग्रिड पुगेको छैन । प्राधिकरणले ती जिल्लामा माइक्रो हाइड्रोमार्फत विद्युत् आपूर्ति गरिरहेको छ । भौगोलिक कठिनाइ तथा विकटताले गर्दा कर्णाली प्रदेशमा विद्युतीकरण चुनौतीपूर्ण रहेको घिसिङले बताए । यो समाचार आजको अन्नपूर्ण पोस्ट दैनिकमा छ ।