चैत २, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) विरुद्ध साझा रणनीति तय गर्न दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) सदस्य राष्ट्रहरुले आज भिडियो कन्फरेन्स मार्फत् छलफल गर्ने भएका छन् ।
भिडियो कन्फरेन्स नेपाली समयअनुसार साँझ सवा पाँच बजे हुनेछ । भिडियो वार्तामा नेपालको तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओली आफैं सहभागी हुनेछन् । दोस्रोपटक मिर्गौला प्रत्यारोपण गरेपछि प्रधानमन्त्री ओली सहभागी हुन लागेको यो पहिलो औपचारिक कार्यक्रम हो ।
सार्कको सदस्यमा नेपाल, भारत, पाकिस्तान, बंगलादेश, भुटान, माल्दिभ्स, श्रीलंका र अफगानिस्तान छन् । हाल सार्कको अध्यक्षता नेपालले गरिरहेको छ ।